आइजिआई प्रुडेन्सियलको एकीकृत कारोबार सुरु

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि दुवैले बुधबारदेखि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।यी दुई कम्पनी समान हैसियत अर्थात् १:१ स्वाप रेसियोमा मर्जर भएका हुन् । नयाँ बनेको कम्पनीमा हेमराज ढकाल अध्यक्ष र योगेशभक्त बादे श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका छन् । उनीहरू साबिक आइएमई जनरलकै अध्यक्ष र सिइओ हुन् । प्रुडेन्सियलका सिइओ श्रवण रावल भने नयाँ कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

मर्जरपछिको कम्पनीमा साबिक आइएमई जनरलबाट अम्बिकाप्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी र कृष्णप्रसाद शर्मा बोर्ड सदस्य र प्रुडेन्सियलबाट विशाल अग्रवाल, अर्पित अग्रवाल र अमित अग्रवाल बोर्ड सदस्य बनेका छन् । यी दुई कम्पनीले २७ माघमा मर्जरको प्रारम्भिक सहमति गरेका थिए । मर्जरसम्बन्धी अन्तिम सम्झौता भने ६ चैतमा भएको थियो ।

मर्जरपछि बनेको कम्पनीको चुक्तापुँजी तीन अर्ब दुई करोड रुपैयाँ पुगेको छ, जुन नियामक निकाय नेपाल बिमा प्राधिकरणले तोकेको भन्दा बढी हो । पहिला निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ र जीवन बिमा कम्पनीको दुई अर्ब चुक्ता पुँजी छ । तर, प्राधिरकणले ०७८ चैतमा एक निर्देशन जारी गर्दै निर्जीवन बिमा कम्पनीलाई दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीलाई पाँच अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी बनाउन भनेको थियो । त्यसको म्याद आउँदो असार मसान्तसम्म छ । पहिलोपटक म्याद भने गत चैत मसान्तसम्म रहेको थियो । तर, अधिकांश कम्पनीको चुक्ता पुँजी नपुगेको म्याद थप गरिएको हो । सोहीअनुसार बिमा कम्पनीहरू मर्जरमार्फत चुक्ता पुँजी बढाउन लागेका हुन् । 

मर्जपछि कम्पनीको शाखा संख्या ८२ पुगेको छ भने कर्मचारी संख्या पाँच सय १७ पुगेको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले पुरानै ढंगले व्यवसाय गरे मर्जरको कुनै औचित्य नहुने बताए । उनले मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको छोटो समयै आइजिआई प्रुडेन्सियलले एकीकृत कारोबार गरेको बताए । उनले भने, ‘आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जर सफल भएको छ ।’

उनले मर्जरपछि बनेको बिमा कम्पनी ग्राहकको हितमा काम गर्नुपर्ने बताए । सोही अवसरमा यस्तै कम्पनीले इनोभेटिभ र अनुसन्धानात्मक काममा लगानी बढाउनुपर्ने बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरले बिमा सेवा राम्रो हुँदै जाने बताए । उनले बिमा दाबी भुक्तानी समस्या हट्नुपर्नेमा जोड दिँदै बिमा कम्पनीहरूको मर्जरले सेवा प्रवाहमा पनि गुणस्तरी हुँदै जाने बताए । 

अध्यक्षले गरे शपथग्रहण 
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले शपथग्रहण गरेका छन् । ढकालले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष नेपाल बिमा प्राधिकरणको कार्यालयमा शपथग्रहण गरेका हुन् ।उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष ढकालले बिमा प्राधिकरणको निर्देशनअनुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ढकाललाई सफल कार्यकालको शुभकामना दिए । 

सुझावित समाचार