एक लाख सात हजार वर्षको कैद र १७ अर्ब ७४ करोड ८१ लाख असुल हुन बाँकी

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

फैसला कार्यान्वयनका लागि परेका २४ हजार निवेदन अलपत्र

गत आर्थिक वर्षसम्म देशभरका अदालतबाट सजाय सुनाइएकोमा एक लाख वर्षभन्दा बढीको कैद सजाय भुक्तानी हुन बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनअनुसार अभियुक्तहरूले एक लाख सात हजार एक सय ६८ वर्ष ६ महिना २७ दिन कैद भुक्तानी गर्न बाँकी छ । 

आर्थिक वर्ष ०७८/७९ सम्मको अवधिमा १७ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि निवेदन परेकोमा ५० प्रतिशतभन्दा बढी कार्यान्वयन हुन नसकेको प्रतिवेदनले देखाउँछ । प्रतिवेदनअनुसार २४ हजार एक सय ४६ वटा निवेदन हालसम्म कार्यान्वयन भएका छैनन् । 

फैसला कार्यान्वयनकै सन्दर्भमा उच्च अदालत पाटनले राइड सेयरिङ एपका विषयमा दिएको आदेशसमेत कार्यान्वयन नभएको भेटिएको छ । हाल सञ्चालनमा रहेका २५ राइड सेयरिङ कम्पनीमध्ये एउटाको दर्ता यातायात व्यवस्था विभागमा नभएको तथा निजी प्रयोजनका लागि अनुमति पाएका सवारीसाधनले भाडा लिई नियमविपरीत कार्य गरिररहेको र बिलसमेत जारी नगर्ने गरेको आदेशमा छ । कानुन बनाएर यस्ता सेवाको नियमन गर्न २९ माघ ०७६ मै उच्च अदालतबाट आदेश भएकोमा सोको कार्यान्वयनसमेत नभएको भेटिएको छ ।

यसैगरी पूर्वविशिष्ट व्यक्तिलाई सुविधा दिने विषयमा कानुन बनाउन ०६८ मै अदालतबाट आदेश भएकोमा सो आदेश पनि पालना नभई जथाभागी सुरक्षाकर्मी खटाउने, व्यक्तिगत काममा लगाउनेजस्ता क्रियाकलाप भइरहेको प्रतिवेदनले औँल्याएको छ । वैदेशिक रोजगारीमा जानेका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था गर्ने सम्बन्धमा पनि ०७५ मा भएको फैसला कार्यान्वयन भएको छैन । यस्ता थुप्रै आदेश तथा फैसला कार्यान्वयन हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वोच्च अदालतको नयाँ भवन निर्माणको कार्य भइरहेकोमा यस वर्ष असारसम्म ३३.५ प्रतिशत कार्य मात्र सम्पन्न भएको छ । संयुक्त उपक्रमसँग १९ चैत ०७७ मा तीन वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । जसमा हालसम्म भौतिक प्रगति ३६.५ र वित्तीय प्रगति ३० प्रतिशत हुनुपर्ने उल्लेख थियो । उक्त कम्पनीले सर्वोच्चको भवन निर्माणका लागि पाँच अर्ब ८७ करोड ९१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । 

सर्वोच्चको बेरुजु पाँच करोड
महालेखाको प्रतिवेदनअनुसार सर्वोच्च अदालत र मातहतका निकायमा यस वर्ष पाँच करोड रुपैयाँभन्दा बढी रकमको बेरुजु देखिएको छ । सर्वोच्च र मातहतका गरी ६६ निकायमा लेखापरीक्षण गर्दा पाँच करोड २० लाख १९ हजार रुपैयाँभन्दा बढी रकम बेरुजु भएको भेटिएको हो । महालेखाले प्रतिवेदन उपलब्ध गराएपछि पाँच लाख नौ हजार रुपैयाँ फस्र्योट भएको थियो । बेरुजुमध्ये दुई लाख ८० हजार रुपैयाँ म्याद नाघेको पेस्की रकम छ । 

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा साढे २४ लाख रुपैयाँ गत आर्थिक वर्षमा बेरुजु भेटिएको छ । महान्यायाधिवक्ताको कार्यालयका साथै मातहतका निकायमा एक करोड ५१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । तर, प्रतिवेदन बुझाएपछि भने ३१ लाख रुपैयाँ फस्र्योट भएको छ ।

नेपाल बारलाई ५० लाख अनुदान
कानुन, न्याय तथा संसदीय मन्त्रालयले नेपाल बार एसोसिएसनसहितका विभिन्न निकायलाई पाँच करोड ७७ लाख रुपैयाँभन्दा बढी वितरण गरेको भेटिएको छ । आर्थिक तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियमविपरीत यी संस्थालाई दिएको रकमको प्रयोगबारे प्रतिवेदन तयार नभएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

बार एसोसिएसनलाई ५० लाख, नेपाल कानुन व्यवसायी परिषद्लाई २५ लाख र पूर्वसांसद मञ्चलाई ३५ लाखसहित विभिन्न नौ संस्थालाई दिइएको रकमको उपयोग सम्झौताअनुसारको काममा भए–नभएको, लक्ष्यअनुसार खर्च गरे–नगरेकोसहित प्रचलित कानुनबमोजिम अनुगमन गरी मन्त्रालयले वार्षिक प्रतिवेदन तयार गरेको छैन ।
 

See More On

सुझावित समाचार