चार्ल्स तृतीयले पहिरिए राजमुकुट

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट ग्रहण गरेका छन् । वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच चार्ल्स ले शनिबार राजमुकुट ग्रहण गरेका हुन् । चार्ल्स को शिरमा जस्टिन वेलबाईका आर्कसपले क्राउन पहिराइदिएका थिए । राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् ।

यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए । सो राजमुकुट पछिल्लोपटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएका थिए ।

समारोहमा आर्कविसपले रानी कमिलालाई ‘क्विन मेरिज’ नामक ताज पहिर्याइदिएका थिए । सो मुकुट पहिले जर्ज पञ्चमको राज्याभिषेकका वेला रानी मेरीका निम्ति बनाइएको थियो । राज्याभिषेक समारोहमा चार्ल्स तृतीयले राजाको दायित्व पूरा गर्ने शपथ लिएका थिए । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधि सहभागी थिए ।

समारोहमा बाइबलको एक अंश वाचन पनि गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले वाचन गरेका थिए । रानी कमिलाका साथ राजा चार्ल्स बकिंघम दरबारबाट उक्त समारोहका लागि निस्किँदा मध्य लन्डनका सडकमा मानिसको भिडले उनीहरूको स्वागत गरेको थियो ।

सवारीका समय सहरको सुरक्षालाई मध्यनजर गर्दै झन्डै १२ हजार प्रहरी अधिकारी तैनाथ गरिएको थियो । राज्याभिषेकको परेडलाई प्रत्यक्ष रूपमा हेर्न मानिसहरू बिहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् । ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’को स्मरण गर्दै बाइडेनले उनीहरूप्रति सद्भाव व्यक्त गरेका छन् ।

सुझावित समाचार