भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीले आफू निर्दोष रहेको बताएका छन् ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पक्राउ पुर्जी जारी भएको विषयमा भर्खरै थाहा पाएको बताए । उनले कानुनलाई सहयोग गर्ने प्रतिक्रिया दिँदै आफू काठमाडौं जान लागेको बताए ।
‘पक्राउ पुर्जी जारी भएको विषयमा भर्खरै थाहा पाएँ । यसमा मेरो कुनै संलग्नता छैन । अहिले म काठमाडौं जाँदै छु । कानुनलाई सहयोग गर्छु,’ उनले भने ।
उनले यो प्रकरणमा प्रहरीले पक्राउ गरेकामध्ये दुईजनालाई आफूले चिनेको र उनीहरूकै आग्रहमा घुम्नसमेत गएको बताए ।
‘मैले दुईजनालाई चिन्थेँ । ती चिनेका मान्छेहरूले घुम्न जाऔँ भने । घुम्न पनि गइयो, फोटो पनि खिचियो । फोटो खिचेर ब्ल्याकमेलिङ गर्लान् भन्ने पनि भएन । मसँग फोटो खिचेका मान्छेहरूले भोलि अन्य अपराध गर्ला त्यसको जिम्मा मैले लिने कुरो भएन,’ उनले भने ।
रायमाझीले आफ्नो छोराको नाममा काटिएको भनिएको चेकबारे पनि अनभिज्ञता प्रकट गरे । ‘छोराको नाममा चेक काटिएको भनिएको छ । त्यो साटिएको पनि छैन । त्यो पनि उनीहरूसँग छ । उसले लिएको पनि छैन । यस केसमा म र मेरो परिवारको कुनै संलग्नता छैन,’ उनले भने ।
अर्घाखाँचीको छत्रदेवमा रहेको महेन्द्र विद्याबोध माविको हीरक महोत्सवको उद्घाटन कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै विशिष्ट अतिथि बनेर बसेका वेला रायमाझीले आफूलाई पक्राउ पुर्जी जारी भएको खबर सुनेका थिए ।
खबर सुनेपछि उनको आग्रहमा आयोजकले सभामुख घिमिरे र एमाले सांसदसमेत रहेका रायमाझीलाई पहिले नै मन्तव्य राख्न दिएका थिए । लगत्तै दुवैजना कार्यक्रमस्थलबाट काठमाडौंका लागि हिँडेका हुन्।
यो प्रकरणमा संलग्नता देखिएपछि जिल्ला अदालत, काठमाडौंले आजै पूर्वमन्त्री रायमाझी र उनको छोरा सन्दीपलाई पनि पक्राउ पुर्जी जारी गरेको छ ।
यो मुद्दामा आजै नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । गृहसचिव हुँदा ठगी गिरोहलाई सघाएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राई पक्राउ परिसकेका छन् ।
नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब एक अर्ब ठगी भएको थियो । जसमा गृह मन्त्रालयका अधिकारी र केही नेताले नै सघाएको यो घटनामा प्रहरीले ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।