उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्वको कामलाई प्राथमिकतामा राखेको बताएका छन्। शनिबार सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमुना पहरी बस्तीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘भ्रष्टाचार नियन्त्रण गर्ने अरू निकाय पनि छन्। तर, गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी र प्रशासनको तर्फबाट गर्न सकिन्छ। भ्रष्टाचार र भ्रष्टाचारीहरूको विरुद्ध गर्ने कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने।
मन्त्री श्रेष्ठले भ्रष्टाचार, मिटरब्याज र दलित तथा महिलामाथि हुने विभेद सह्य नहुने बताए। यसविरुद्व गृह मन्त्रालय निर्मम ढंगले लागेको उनको दाबी थियो। सुरक्षा निकायलाई आमनागरिकको पहुँचमा पुगेर सेवा दिने गरी कार्य पद्धति परिवर्तन गर्न विशेष निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए।
कार्यक्रममा मन्त्री श्रेष्ठले नमुना पहरी बस्तीका १३ परिवारलाई घरको साँचो हस्तान्तरण गरे। नदी किनार तथा वन क्षेत्रमा अव्यवस्थित रूपमा बसोवास गर्दै आएका पहरी परिवारलाई प्रदेश सरकार र बागमती नगरपालिकाले संयुक्त रूपमा एकै स्थानमा पक्की घर निर्माण गरिदिएका हुन्।
हरिहर सामुदायिक वन क्षेत्रमा बस्ने पहरीहरू नेपालको लोपोन्मुख जातिमध्येका एक हुन्। लोपाेन्मुख जातिको संरक्षणमा नगरपालिकाले देखाएको तदारुकताको उपप्रधानमन्त्री श्रेष्ठले प्रशंसा गरे।
उक्त बस्तीमा ७० जनाको संख्यामा पहरी परिवार रहँदै आएका छन्। त्यसमध्ये केही नगरपालिकाले निर्माण गरिरहेको फनपार्कमा क्षमताअनुसार रोजगारीमा समेत संलग्न रहेका नगरपालिकाले जनाएको छ। केहीले भने बागमती नदीमा माछा मार्ने र त्यसबाट दैनिकी गुजार्ने गरेका छन्।