नेपालका प्रमुख होटेलका सेफहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल बनाउन र सेफ समुदायसमक्ष न्युट्रिप्लसलाई परिचित गराउने उद्देश्यका साथ आरएमसी फुड्सले सेफ सत्रको पहिलो संस्करण आयोजना गरेको छ । देशमा कार्यकारी सेफको उपाधि जित्ने पहिलो नेपाली सेफ गोविन्दनरसिंह केसी प्रमुख वक्ता रहेको सत्रमा सेफ रत्नबहादुर थापा, सेफ लक्ष्मणप्रसाद भट्टराई, सेफ एसोसिएसनका अध्यक्ष श्याम लामालगायत अन्य सेफहरूको उपस्थिति रहेको जनाइएको छ ।
सत्रमा सेफ समुदायले यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मिहिनेत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको कम्पनीले जनाएको छ । कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बासडर सन्तोष शाहले ब्रान्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रिप्लसले थपेको फाइदाका बारेमा बताएका थिए ।
आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवालले नेपालका चर्चित र प्रमुख सेफ समुदायमा आफ्नो उत्पादन न्युट्रिप्लसको परिचय दिन पाउँदा गर्व महसुस भएको बताए । उनले भने, ‘आज उपस्थित सेफहरू हाम्रो भर्खरै प्रस्तुत गरिएको न्युट्रिप्लसबारे पहिले नै जानकार छन् र यसलाई उहाँहरू आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौँ । यस सत्रको उद्देश्य आफ्नो व्यावसायिक जीवनमा व्यस्त सेफहरूबीच सुमधुर भेटघाट र चिनजान गराउने थियो । यस सत्रको सफलताले हामीलाई सेफ समुदायका लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न उत्प्रेरित गरेको छ ।’
आरएमसी फुड्स खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरूमा केन्द्रित रहेको जनाइएको छ । कम्पनीले दशकौँ पुरानो परम्परालाई निरन्तरता दिँदै नेपालको औद्योगिक क्षेत्र जितपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गर्नुका साथै एकैसाथ अन्य थप उत्पादनहरू ल्याउने योजना रहेको जनाएको छ ।