राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ।
बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छिन्।
उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ।
प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गर्दै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन्।
मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरू तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने उनको माग थियो।
उनले मुलुक आर्थिक रूपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको बताइन्। सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोगजस्तो भएको उनको भनाइ थियो।