लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सम्झौता भएको छ । नेपाल प्रहरी र बैंकबीच २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको हो ।
सम्झौतामा प्रहरी महानिरीक्षक वसन्त कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहको उपस्थितिमा बैंकका रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दीपेश अमात्य र नेपाल प्रहरीका नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेको जनाइएको छ । उक्त छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरूमा अध्ययनरत अमर–सहिद, बहालवाला, पूर्व एवं अवकाशप्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।
छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने र बैंकले आर्थिक सहयोग प्रदान गर्ने जनाइएको छ । साथै, बैंकले आगामी पाँच वर्षसम्म सात लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।