३ प्रश्न

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

उपनिर्वाचनको प्रारम्भिक मत परिणामले के देखाएको छ ?
प्रारम्भिक मतपरिणामले  पुराना राजनीतिक दलप्रति असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ । अहिले पुरानो दल मात्रै भनेर मतदाताले हेरेका छैनन् । जनताले डेलिभरी खोजेका छन् । भ्रष्टाचारको विरोध गरिरहेका छन् । यसमा ठूला दल चुकेका छन् । नयाँ दलहरूले यही एजेन्डा बोकेर आएकाले जनतामा आशा जागेको देखिन्छ । अब सत्तारुढ, पुरानो दल र गठबन्धन हुँदैमा निर्वाचन जित्न सकिँदैन भन्ने जबाफ मतदाताले दिएका छन् । एकैमात्र दलको बर्चस्व रहने अवस्था अब छैन भन्ने देखाएको छ । ठूला भनिएका तीनचार राजनीतिक दलप्रति अत्यन्तै ठूलो वितृष्णा देखाएको छ । 

परिणामले ठूला दललाई कत्तिको दबाबमा पारेको छ ?
समग्रमा यसले नयाँ राजनीतिक परिवर्तनको संकेत गरेको छ । भारतकै उदाहरण हेरौँ, असीको दशकमा कांग्रेस आईको विकल्पमा कोही थिएन । तर, बिस्तारै नब्बेको दशकमा विकल्पका रूपमा अन्य पार्टी आए । नेपालमा लिबरल फोर्सका रूपमा नयाँ नयाँ दल आउनु कांग्रेस र कम्युनिस्ट दुवैलाई ठूलो चुनौती हो । नेपालका सन्दर्भमा राष्ट्रिय राजनीतिको निर्णायक क्षेत्र मध्यपहाड र मधेसमा पनि परिवर्तनको सुरुवात भएको देखिन्छ । 

परिणामले दिएको सन्देश के हो ? 
नयाँ र निष्पक्ष व्यक्ति र दल मतदाताले खोजिरहेका छन् । सधैँ एकै पार्टीको वर्चस्वलाई मतदाताले स्वीकार  गर्दैनन् भन्ने पुष्टि गरेको छ । ठूला दललाई यसले सच्चिने मौका दिएको छ । समयअनुसार परिवर्तन नभए सक्किनुको विकल्प हुँदैन भन्ने स्पष्ट पाठ सिकाएको छ ।

सुझावित समाचार