भारतको पेय पदार्थ कम्पनी पार्ले एग्रोले तीन वर्षपछि पुनः नेपाली बजारमा फ्रुटीको बिक्री सुरु गरेको छ । कम्पनीले नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पहिलोपटक फ्रुटीको ब्रान्ड एम्बासडर तोकेरै बिक्री सुरु गरेको हो ।
कम्पनीले अभिनेत्री उपासना सिंह ठकुरीलाई फ्रुटीको ब्रान्ड एम्बासडरका रूपमा अनुबन्धित गरेको जनाएको छ । ठकुरीले भनिन्, ‘सानैदेखि म्यांगो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको र आफू यो ब्रान्डको पहिलो ब्रान्ड एम्बासडर हुन पाएकोमा खुसी लागेको छ ।’ नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामु आफ्नो छाप छोड्न सफल हुने उनले विश्वास व्यक्त गरिन् । फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टुन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पेटबोटलमा उपलब्ध रहेको जनाइएको छ ।
पार्ले एग्रोल स्याउको कार्बोनेटेड पेय ‘एप्पी फिज’ पनि बजारमा ल्याएको छ । यसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएकाले नेपाली बजारका लागि यो पेय पदार्थ नौलो रहेको कम्पनीको भनाइ छ । एप्पी फिजका लागि कम्पनीले अभिनेत्री प्रियंका कार्कीलाई ब्रान्ड एम्बासडर तोकेको जनाएको छ । उनले भनिन्, ‘एप्पी फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा निकै उत्साहित छु, किनकि यो अरू ड्रिंकहरूभन्दा फरक छ, यसको स्वाद पृथक् र नौलो छ ।’ एप्पी फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको पेटबोटलमा उपलब्ध रहेको जनाइएको छ ।
फ्रुटी र एप्पी फिजलाई नेपालको हरेक कुनासम्म पुर्याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको जनाएको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको जनाइएको छ । पार्ले एग्रोकी सहप्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहानले नेपाल सम्भावना बोकेको बजार रहेको बताइन् ।
फ्रुटीलाई फिर्ता ल्याएर, आफूहरूले देशको पेय पदार्थ उद्योगमा उक्त सम्भावनालाई चरितार्थ गर्ने प्रतिबद्धता गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘हाम्रो लक्ष्य फ्रुटी र एप्पी फिजलाई हरेकको रोजाइमा पार्नु हो र नेपाली उपभोक्तासँग गहिरो सम्बन्ध बनाउनु हो ।’ फ्रुटीसँग पहिले नै देशमा बलियो ब्रान्ड सम्बन्ध रहेको र त्यस्तै सम्भावना एप्पी फिजले पनि बोकेको उनको भनाइ थियो ।
साउथ एसियन बेभरेज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक आशिष अग्रवालले भारतको अग्रणी पेय पदार्थ निर्माता पार्ले एग्रोसँग साझेदारी गर्न पाउँदा र फ्रुटीलाई नेपाली उपभोक्ताको प्राथमिकतामा पार्न तथा एप्पी फिजसँगको नयाँ सम्बन्ध सिर्जना गर्न पाउँदा गर्व महसुस भएको बताए ।