आधारभूत तहको अन्तिम परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयको नतिजा ‘निल’ देखिनुलाई कसरी हेर्नुभएको छ ?
यो सरोकारवाला सबैले गम्भीरतापूर्वक छलफल गरी समाधान खोज्नुपर्ने ‘इस्यु’ हो । हाम्रा अधिकांश सामुदायिक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयको नतिजा कमजोर देखिने गरेको छ । यस्तो कमजोर नतिजा आउनुमा सरोकारवाला निकायको अनुगमन कमजोर हुनु हो । तोकिएको समयअनुसार कक्षा चलेको छ कि छैन, कक्षा चलेकै भए पनि साँच्चिकै सिकाइ भइरहेको छ कि छैन भनेर चासो नदिइनाले नै यस्तो नतिजा आएको हुन सक्छ ।
हाम्रो विद्यालय तहको पठनपाठन किन कमजोर भएको होला ?
विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि अनुगमन प्रभावकारी होला र गाउँगाउँका विद्यालयको समेत पठनपाठन सुध्रिएला भन्ने अपेक्षा थियो । तर, अधिकांश तहमा त्यस्तो देखिएन । हामीकहाँ नियमित सिकाइको मूल्यांकन प्रणाली लागू हुन सकेको छैन । निश्चित समयको अन्तरालमा परीक्षा लिने र कक्षा चढाउने सूत्रबाट हाम्रो शिक्षा चलिरहेको छ । यसले गर्दा पनि हाम्रो विद्यालयको शिक्षा कमजोर भएको हो ।
यसलाई सुधार गर्ने उपाय के हुन सक्छ ?
विद्यालय तहको शिक्षामा सुधार ल्याउन विद्यार्थीलाई उपयुक्त वातावरण दिनुपर्छ । ‘स्कुल बेस्ड एसेस्मेन्ट’ प्रणाली लागू गरिनुपर्छ । शिक्षकलाई पनि आवश्यक सहयोग र उनीहरूको कामको निष्पक्ष मूल्यांकन गर्ने विधि निर्माण गरी लागू गर्नुपर्छ । प्रधानाध्यापकलाई जिम्मेवार बनाएर स्थानीय तहले सूक्ष्म अनुगमन गर्नुपर्छ ।