मानिसमाथि आक्रमण गरेको बाघलाई २२ घण्टापछि नियन्त्रणमा लिइएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईकी ४५ वर्षीया गंगा चन्दलाई आक्रमण गर्ने बाघलाई शनिबार नियन्त्रणमा लिइएको हो। घाँस काट्न खेतमा गएकी गंगामाथि बाघले शुक्रबार आक्रमण गरेको थियो। बाघको आक्रमणबाट बेपत्ता भएकी गंगाको शव फेला गरेको छ।
मानिसमाथि आक्रमण गर्दै आएको बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दीनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितको टोलीले हात्ती परिचालन गरेर खोजतलासमा खटिएका थिए।
बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो। सोही टोलीले चारवटा हात्तीको सहारामा पचुँईको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो।
यही बाघले गत १० चैत्रमा पुनर्वास नगरपालिका-१० विकास बस्तीकी कलसा सार्कीलाई आक्रमण गरेको थियाे। पुनर्वासकी सार्की महिलामाथि आक्रमण गरेको दुई सातामा भारत लखिमपुर खिरीकी एक भारतीय महिलामाथि आक्रमण गरेको थियो।
त्यसकाे ठिक एक महिनामै बेलौरी नगरपालिका-८ पचुईकी महिला गंगामाथि आक्रमण गरेको छ। सोही बाघले नै एक महिनाको अवधिमा (नेपाल-भारत) तीन महिलामाथि आक्रमण गरेपछि सीमावर्ती क्षेत्रका स्थानीय त्रसित भएका छन्।