निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ।
निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो।
उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ।
आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र मतदाताबाहेक बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिको अवाञ्छित आवागमन र अनधिकृत गतिविधि नगर्न–नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।
यदि त्यसप्रकारका अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ।
आयोग नेपाल प्रहरीका सम्बन्धित सबै एकाइ, राष्ट्रिय अनुसन्धान विभागमातहतका सम्बन्धित एकाइ र आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृत तथा अन्य सरोकारवाला सबै पक्षलाई सोहीबमोजिम गर्न–गराउन आयोगले निर्देश गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए।
आयोगले उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउन तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने निर्णयसमेत गरिसकेको छ।
यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ।
साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ।
निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले तोकिएभन्दा बाहेक वा अनुमतिविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिई आवश्यक कारबाही गर्ने पनि आयोगले जनाएको छ।