एनआइसी एसिया बैंक लिमिटेडले चालू आ.व. ०७९–८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिन्छन्।
बैंकले चालू आवको तेस्रो त्रैमाससम्म कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रु. २७७.७ अर्ब तथा निक्षेपतर्फ कुल निक्षेप संकलन रु. ३१६.५५ अर्ब पुर्याउन सफल भएको छ। बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ रु. ४.०१ अर्ब आर्जन गरेको छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो।
यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रतिसेयर आम्दानी रु. ४६.७६ आर्जन गर्न सफल भएको छ। निष्क्रिय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।
आ.व. ०७९–८० को तेस्रो त्रैमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहक थप गर्दै ३७ लाखभन्दा बढी पुर्याएको बैंकले जनाएको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।
एनआइसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकमध्येको हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०८ विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित सञ्जाल विस्तार गरेको छ।