व्यवस्थित तरिकाले पढ्ने धेरै वैज्ञानिक विधि छन् । तीमध्ये पोमोडोरो टेक्निक १९८० को दशकको अन्त्यमा फ्रान्सेस्को सिरिलोद्वारा विकसित गरिएको समय व्यवस्थापन विधि हो । यो विधिअनुसार हरेक २५ मिनेटको अन्तराललाई पोमोडोरो भनिन्छ । विश्वविद्यालयमा अध्ययन गर्दा इटालियन फ्रान्सेस्को सिरिलोले प्रयोग गर्ने किचेन टाइमर टमाटर आकारको थियो । टमाटरलाई इटालियन भाषामा पोमोडोरो भनिने हुनाले यो टेक्निकको नाम ‘पोमोडोरो टेक्निक’ रहन गयो ।
सजिलो टेक्निक
- आफूले पढ्नुपर्ने निश्चित विषयवस्तु छनोट गर्नुहोस् ।
- टाइमर सेट गर्नुहोस् (सामान्यतया २५ मिनेटका लागि) ।
- यो अवधिभर पूर्ण ध्यान आफ्नो पढाइमा लगाउनुहोस् ।
- टाइमर बजेपछि छोटो ब्रेक लिनुहोस् (सामान्यतया पाँच मिनेटका लागि) ।
- अब चौथो पोमोडोरो लिनुहोस् र त्यसपछि लामो ब्रेक लिनुहोस् (सामान्यतया २०–३० मिनेट) ।
- लामो ब्रेक समाप्त भएपछि दोस्रो चरणमा फर्कनुहोस् । यदि फरक विषयवस्तुलाई समय दिनुपर्ने भए पहिलो चरणबाट सुरु गर्नुहोस् ।
- पाँच मिनेट ब्रेकको समयमा हिँड्ने, पानी पिउने, ध्यान गर्ने, गीत सुन्ने, आफ्नो रुचिको कुरा गर्ने अथवा आफ्ना सानातिना बाँकी रहेका काम गर्न सकिन्छ । २५ मिनेट छोटो समयजस्तो लाग्छ भने ५० मिनेटको पोमोडोरो बनाएर १० मिनेटको ब्रेक लिन पनि मिल्छ ।
- आफ्नो व्यक्तित्व र कामको प्रकारअनुसार यो विधिको प्रयोग फरक–फरक तरिकाले गर्न सकिन्छ ।
पढ्न सजिलो बनाउँछ : अधिकांश विद्यार्थीले विषयवस्तुलाई धेरै गाह्रो मान्छन् । यो टेक्निकले भयानकजस्तो देखिने विषयवस्तुलाई केही मिनेटको टुक्रा–टुक्रामा विभाजित गर्ने भएकाले पढ्ने काम सजिलो अनुभव हुन्छ । उदाहरणका लागि, राक्षस पनि तब मात्रै भयानक देखिन्छ, जब ऊ सिंगो हुन्छ । त्यही राक्षसलाई टुक्रा–टुक्रा बनाउने हो भने ऊप्रतिको कुनै पनि डर बाँकी रहँदैन । तसर्थ, राक्षसझैँ कल्पना गरिएको पढाइ यो विधिबाट सहज हुँदा विद्यार्थीलाई तनाव व्यवस्थापन गर्न सजिलो हुन्छ ।
स्मरण गर्न सजिलो हुन्छ : यो विधिअनुसार पाँच मिनेटको विश्राम लिँदा स्मरणशक्तिको दुई महत्वपूर्ण सिद्धान्तको फाइदा लिन सकिन्छ : प्राइमेसी र रिसेन्सी । प्राइमेसीको सिद्धान्तले भन्छ कि तपाईंलाई सुरुवातका कुरा सम्झन सजिलो हुन्छ । त्यसैगरी, रिसेन्सीको सिद्धान्तले भन्छ कि तपाईंलाई अन्त्यको वा हालसालैका कुरा सम्झन सजिलो हुन्छ । कुनै पनि ठाउँ जाँदा तपाईंलाई सुरु र अन्त्यमा भेटेका मान्छेहरू ज्यादा याद आउँछन् कि बीचमा भेटेका अनेकौँ मान्छे ? विचार गर्नुहोस् । यही हो प्राइमेसी र रिसेन्सीको सिद्धान्त । जति धेरै ब्रेक लिनुहुन्छ, त्यति नै धेरै सुरुवात र अन्त्य हुन्छ । त्यही भएर घन्टौँसम्म लगातार पढेर बस्नुभन्दा ब्रेक लिँदै पढेको ज्यादा स्मरण हुन्छ ।
पढाइको गुणस्तर बढाउँछ : यो एक बसाइ अथवा एक चरणमा यति मात्रै समय छ र निश्चित समयपछि यति मिनेट ब्रेक छ भन्ने सूचना दिमागले स्पष्ट पाइसकेपछि त्यसैअनुसार एकाग्रताका साथ काम गर्छ । यसलाई ‘टाइम ब्लकिङ’को अवधारणासँग पनि दाँज्न मिल्छ । डेडलाइन (समयसीमा) तोकिएको हुनाले दिमागले छुट्टै उत्प्रेरणाको अनुभव गर्छ । आफ्नो समय र ऊर्जालाई सानो टुक्रामा विभाजन गरेर तपाईं आफ्नो छरिएको दिमागविरुद्ध लड्नुको सट्टा पूरै ध्यान र एकाग्रताका साथ पढ्न सक्नुहुन्छ ।
मानसिक थकान रोक्छ : आफूलाई मानसिक रूपमा थकान हुँदाहुँदै दिनभरि गरिएको पढाइ अथवा अरू कुनै पनि काम प्रभावकारी हुँदैन । दिमाग एउटा ‘बायोलोजिकल कम्प्युटर’ हो, थाकेपछि पनि प्रयोग गरिरह्यो भने यो पनि ह्याङ हुन्छ । त्यसैले छोटो अनि व्यवस्थित ब्रेकहरू लिन एकदमै जरुरी हुन्छ । यसो गर्दा मानसिक ऊर्जाको राम्रो संरक्षण हुनुका साथै उत्पादकत्व पनि बढ्छ । ‘ब्रेन वेभ गतिविधिमा’ माइक्रोसफ्टले गरेको एउटा अनुसन्धानले तपाईंले ब्रेक लिँदा तपाईंको मस्तिष्कले कसरी सकारात्मक रूपमा फरक तरिकाले काम गर्छ भन्ने कुरा देखाउँछ । ब्रेकहरूले तपाईंको तनावलाई मात्र कम गर्दैन, तपाईंको प्रदर्शनमा पनि धेरै मद्दत गर्छ ।