विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक नपाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ। यहाँका विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन्।
शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुसी लागेको शैल्यशिखर नगरपालिका-६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीकी छात्रा निशा धामीले बताइन्।
गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए। विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफू पनि निकै खुसी भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामसिंह धामीले बताए।
‘विद्यार्थीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पुस्तक भएन भनेर गुनासो गर्थे, हामीलाई पनि पढाउँदा समस्या हुन्थ्यो, यो वर्ष भर्ना भएसँगै विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा हर्षित भएका छौँ,’ उनको भने।
विद्यालयमा दुई सय ५० विद्यार्थी अध्ययनरत छन्। मंगलबार मात्रै विद्यालयमा भर्ना भएका एक सय ५० विद्यार्थीलाई पुस्तक वितरण गरिएको धामीले जानकारी दिए।
विद्यालयमा सुरुदेखि नै झोलाभरि कापी र किताब बोकेर विद्यालय जान पाउँदा विद्यार्थीमा समेत पढाइप्रतिको उत्साह थपिएको अभिभावकको बुझाइ छ।
त्यस्तै, शैल्यशिखर नगरपालिका– ६ मा रहेको शैल्यशिखर आधारभूत विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन्। भर्नासँगै पुस्तक वितरण हुने भएपछि विद्यार्थी भर्ना संख्या बढेको विद्यालयका प्रधानाध्यापक शारदा धामीले बताए।
गत वर्ष शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको समस्यालाई मध्यनजर गर्दै यस वर्ष जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराइएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए। रासस