अडियो प्रकरणबारे श्रेष्ठ भन्छन्– जनवरीको अडियो अहिले ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

साढे २ करोड डिल गरेको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले उक्त अडियो ‘अथेन्टिक’ नरहेको दाबी गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले उक्त अडियो तोडमोड गरेर बनाइएको स्पष्टीकरण दिएका हुन्। ‘यो अडियो मिडियामा जसले, जहाँ, जसरी पनि बनाउन सक्ने कुरा हो। अडियो इडिटिङ गर्न सकिन्छ। मैले अहिले बोलेको भ्वाइस अर्को तरिकाले मोडेर पनि बाहिर ल्याउन सकिन्छ। यो अडियो अथेन्टिक होइन,’ उनले भने, ‘ह्वाट्स एपमा कुरा गरेको भनिएको छ। मेरा कुराहरू कहाँ-कहाँबाट जोडेर ल्याइएको छ। यसमा म खेद प्रकट गर्न चाहन्छु।’

उपनिर्वाचनलाई लक्षित गरेर रास्वपामाथि प्रहार गरिएको जिकिर गर्दै श्रेष्ठले यसलाई ध्यानमा नराख्न मतदातालाई आग्रह गरे। जनवरी–फेब्रुअरी (पुस–माघ)तिरको घटनालाई अहिले सार्वजनिक गर्नुले पार्टीमाथिको सुनियोजित प्रहारलाई पुष्टि गर्ने उनको तर्क छ।

‘दाजुभाइ, दिदीबहिनीहरूले उपनिर्वाचनमा यो अडियोलाई ध्यानमा नराख्नुहोला। यो सुनियोजित रूपमा गरिएको हो। जनवरी–फेब्रुअरीमा भएको अडियो अहिले बाहिर ल्याउनु भनेको सुनियोजित किसिमले पार्टीलाई चारैतिरबाट प्रहार गर्नु हो,’ श्रेष्ठले भने। उनले न्यायालयबाट क्लिन चिट पाउने दाबीसमेत गरेका छन्।

सुझावित समाचार