सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र खुमलटार युथ क्लबबीच रोमाञ्चक भिडन्त भयो । जारी लिगको ५१औँ खेलमा समग्रमा दश गोल भयो । लिगकै हाई स्कोरिङ खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ ले हरायो । मच्छिन्द्रको जितमा नाइजेरियन स्ट्राइकर ओलावाले एक्लैले पाँच गोल गरे । विमल घर्तीमगर र विजय भुजेलले एक–एक गोल थपे । लिगको नवप्रवेशी क्लब खुमलटारका लागि विदेशी खेलाडी मेसौके ओलोमाउले दुई तथा स्टेफन समिरले एक गोल फर्काए ।
मच्छिन्द्रले पहिलो हाफमा तीन गोल गरेको थियो । दोस्रो हाफमा खेलाडीले सात गोल गरे । नवनियुक्त प्रशिक्षक किशोरकुमार केसीले मच्छिन्द्रलाई लगातार दोस्रो खेलमा जित दिलाएका छन् । यसै साता केसी मच्छिन्द्रका मुख्य प्रशिक्षक बनेका थिए । केसीको पहिलो प्रशिक्षणमै मच्छिन्द्रले संकटालाई हराएको थियो । आठौँ खेलमा तेस्रो जित निकालेको मच्छिन्द्र १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ ।
मच्छिन्द्रका नाइजेरियन स्ट्राइकर आफिज ओलावालेले ए डिभजन लिगमा पहिलो ह्याट्रिकसहित पाँच गोल गरेका छन् । साबिक दुईपटकको विजेता मच्छिन्द्रले खुमलटार युथलाई ७–३ ले हरायो ।
उपाधि दाबेदारी प्रस्तुत गरेको खुमलटार सात अंकसहित १०औँ स्थानमा छ । मच्छिन्द्रका प्रशिक्षक किशोरले योजनाअनुसार खेलाडीले मिहिनेत गरेको बताएका छन् । ‘दोस्रो खेलमा पनि हामीले उद्देश्यअनुसार जित निकाल्यौँ,’ केसीले भने, ‘खेलको ३० मिनेटभित्र तीन गोल हुनुपर्छ भन्ने थियो, जुन एक हिसाबले सफल भएको भन्नुपर्छ ।’ प्रशिक्षक केसीले खुमलटारका दुई विदेशी (स्टेफन, मेसौके)लाई रोक्ने प्रयास सफल नभएको जनाए । ‘स्टेफन र मेसौकेलाई पूर्ण रूपले नियन्त्रणमा राख्दा पनि गोल गरे, लिगमा उनीहरू धेरै उत्कृष्ट छन्,’ खेलको रणनीतिबारे केसी भन्छन्, ‘यद्यपि, हामी उपाधि दाबेदारीमै रहनेछौँ ।’ मच्छिन्द्रले ०७६ र ०७८ मा प्रवेश कटवालको प्रशिक्षणमा उपाधि जितेको थियो ।
आफिजको पाँच गोल
मच्छिन्द्रको जितमा नाइजेरियन स्ट्राइकर आफिजले पाँच गोल गरे । पहिलो हाफमा दुई गोल गरेका आफिजले ५६औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । खुमलटारका रक्षकले विमललाई पेनाल्टी क्षेत्रमा लडाएपछि मच्छिन्द्रले ५६औँ मिनेटमा पेनाल्टी पायो । आफिजले पेनाल्टीमा गोल गर्दैै लिगमै आफ्नो ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको २५औँ, पहिलो हाफको इन्जुरी समय, ५६औँ, ६२औँ र ६७औँ मिनेट गरी पाँच गोल गरे । लिगमा पाँच खेलमा उनले सर्वाधिक आठ गोल गरेका छन् ।
प्रशिक्षक केसीले आफिजको स्थानमा ७१औँ मिनेटमा विजय भुजेललाई मैदान पठाए । ‘अघिल्लो खेलमा ह्याट्रिक अवसर गुमाएँ, आज योजना पूरा भयो,’ आफिजले भने । उनले आफ्नो घाइते भएका खेलाडी छिरिङ गुरुङलाई पाँच गोल समर्पित गरे । ‘मेरो पाँच गोल छिरिङलाई समर्पण गर्न चाहन्छु,’ संकटाविरुद्ध छिरिङ आफ्नै सहकर्मी पुजन उपरकोटीसँग ठोक्किँदै मैदानमा ढलेका थिए । आफिजले मच्छिन्द्रलाई लिग जिताउने र सर्वाधिक गोलकर्ता हुने योजना रहेको सुनाए । ‘टप स्कोरर बनेर मच्छिन्द्रलाई उपाधि जिताउन भूमिका खेल्छु,’ उनले भने ।
आर्मीको तेस्रो जित
त्रिभुवन आर्मी फुटबल क्लबले आठौैँ खेलसम्म तेस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले जावलाखेल युथलाई ३–१ ले हरायो । तेस्रो जितसँगै आर्मी १२ अंकसहित पाँचौँ स्थानमा रह्यो । जावलाखेलले शीर्ष स्थानमा उक्लने अवसर गुमायो । आठ खेलबाट जावलाखेल १४ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी १५ अंकसहित शीर्ष स्थानमा छ ।
आर्मीको जितमा जिलेस्पीजंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले समान एक गोल गरे । सुनील खड्काले जावलाखेलका लागि एक गोल फर्काए । खेलको १७औँ मिनेटमा कप्तान जिलेस्पीले सेसेहाङ आङ्देम्बेको पास सदुपयोग गर्दै आर्मीलाई १–० को अग्रता लिए । आर्मीले खेलको ५५औँ मिनेटमा नवयुगको पेनाल्टी गोलमार्फत २–० को अग्रता लियो ।
जगजित श्रेष्ठलाई पेनाल्टी क्षेत्रमा जावलाखेलका खेलाडीले लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सुनील खड्काले ६२औँ मिनेटमा गोल गर्दा जावलाखेल २–१ को अवस्थामा पुग्यो । खेलको ८०औँ मिनेटमा नवयुगको पास सदुपयोग गर्दै सुदिलले आर्मीलाई जित दिलाए ।