
चिकित्सकको लापरबाहीबारे छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मंगलबार अत्तरियामा मृतकका आफन्त र स्थानीयको विरोध । मृतकका श्रीमान् शिवराज भट्टराईले अस्पतालको लापरबाहीले श्रीमती र शिशुको मृत्यु भएको भन्दै छानबिन भएर चित्तबुझ्दो जवाफ नआएसम्म शव नबुझ्ने बताए ।
कैलालीको मालाखेती अस्पतालमा प्रसूतिका क्रममा महिला र नवजात शिशुको मृत्यु भएको दुई दिनसम्म पनि शव उठाइएको छैन । स्वास्थ्यकर्मीको लापरबाहीले आमा र शिशुको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । दुई दिनसम्म शवको पोस्टमार्टम पनि हुन सकेको छैन ।
सुरक्षित प्रसूतिका लागि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका– २ बस्ने २८ वर्षीया लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमबार बिहान मृत्यु भएको थियो । चिकित्सकले पेटबाट शिशु निकालेको केहीबेरपछि दुवैजनाको मृत्यु भएको हो । लक्ष्मीका श्रीमान् शिवराज भट्टराईले अस्पतालको लापरबाहीले श्रीमती र शिशुको मृत्यु भएको भन्दै छानबिन भएर चित्तबुझ्दो जवाफ नआएसम्म शव नबुझ्ने बताए ।
मृतकका आफन्त र स्थानीय चिकित्सकको लापरबाहीबारे छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मंगलबार दिनभरजसो अत्तरियामा प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले बन्द गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । छानबिन समितिको रिपोर्ट नआएसम्म शव नउठाउने मृतकका आफन्त आशिष भट्टराईले बताए ।
चिकित्सकले दिएको बच्चा पाउने मितिको एक सातासम्म पनि बेथा नलागेपछि आफन्तले सामान्य अवस्थामै लक्ष्मीलाई आइतबार मालाखेती अस्पताल पु¥याएका थिए । मृतककी बहिनी धर्मा भट्टराईका अनुसार अस्पताल भर्ना गरेर स्वास्थ्यकर्मीले यौनांगमा सुत्केरी बेथा लाग्ने औषधि राखेका थिए, रातिसम्म पनि लक्ष्मीको स्वास्थ्य अवस्था सामान्य थियो ।
‘राति ३ बजेतिर अप्ठ्यारो भयो । सास फेर्न गाह्रो भएपछि बिहान ६ बजे अक्सिजन चढाइयो,’ अस्पतालमा कुरुवा बसेकी धर्माले भनिन्, ‘हामीले त्यतिवेलै बिरामीलाई अप्ठ्यारो भएको हो भने सेती अस्पताल लैजान्छौँ भन्यौँ, तर नर्सले सामान्य समस्या हो, बच्चाको अवस्था पनि सामान्य छ भने ।’
बिहान ८ बजे डाक्टरले पेटबाट बच्चा निकालेका थिए । केही मिनेटमै बच्चा र त्यसपछि आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आफन्तका अनुसार धनगढीको सेती प्रादेशिक अस्पतालमा लैजान्छौँ भन्दा डाक्टरले पनि सुरुमा केही हुन्न, नआत्तिनुस् भनेर आश्वस्त पारेका थिए । पछि केस जटिल भएको भन्दै धनगढी लैजान भनेको आफन्तको भनाइ छ । धनगढी लैजान एम्बुलेन्समा राख्दासम्म लक्ष्मीको मृत्यु भइसकेको थियो ।
उपचारमा संलग्न चिकित्सकले भने लक्ष्मीको स्वास्थ्य अवस्था एक्कासी गम्भीर बनेको र प्रयास गर्दा पनि बचाउन नसकेको बताएका छन् । मालाखेती अस्पतालका प्रमुख डा. अन्वेष कोइरालाले सामान्य अवस्थामा रहेको प्रसूतिको स्वास्थ्य एकाएक जटिल बनेर मृत्यु भएको बताए । उनका अनुसार पेटबाट बच्चा निकाल्नेबित्तिकै आकस्मिक रूपमा जटिल समस्या आएको हो । पाठेघरको पानी फोक्सोमा जाँदा स्वास्थ्य एक्कासी जटिल बनेको देखिएको कोइरालाले बताए । ‘पेटबाट बच्चा निकालेको एकछिनमै आमाको अवस्था नाजुक बन्यो,’ उनले भने, ‘पाठेघरको पानी फोक्सोमा गएका कारण मृत्यु भएको देखिन्छ, यकिन कारण भने पोस्टमार्टमको रिपोर्ट आएपछि थाहा होला ।’
डा. कोइरालाका अनुसार पेटबाट निकालेको करिब १० मिनेटसम्म बच्चाको मुटु चलेको थियो । ‘डाक्टरको लापरबाहीले घटना भएको होइन, उपचारमा लापरबाही भए–नभएको अनुसन्धानले पनि देखाउला,’ उनले भने, ‘हामीले कोसिस गरेको हो । सामान्य अवस्थाको बिरामी झ्याप्पै ‘कोल्याप्स’ हुने अवस्था आयो ।’ आफूसहित चारजना डाक्टरको टोलीले बिरामीलाई बचाउने प्रयास गरेको उनले बताए । लक्ष्मीले दोस्रो सन्तानको जन्म दिन लागेकी थिइन् ।
घटनाको छानबिनका लागि सेती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ जगदिश विष्टको संयोजकत्वमा मंगलबार बेलुका छानबिन समिति गठन गरिएको छ । सेतीमै कार्यरत डा. सृष्टि जोशी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी र प्रदेश स्वास्थ्य निर्देशनालयका ओमप्रकाश जोशीसहित समितिको सदस्य छन् । प्रहरी, प्रशासन र स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो ।