बलियो नेपाल कप अन्तर एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ। सोमबार भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई सात विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रन बनाउन सक्यो। कर्णालीका विराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए। रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए। त्यस्तै, शुभम् खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।
७३ रनको लक्ष्य पक्ष्याउँदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले केबल ९.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए। विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए।
स्टारका लागि विक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङतर्फ भने कर्णालीका सन्दीप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिए।
प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिए भने प्रतियोगिताका उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराटसिंह भण्डारी तथा प्लेयर अफ द सिरिज स्टारका कप्तान अमर मिश्र पुरस्कृत भए।
समापन समारोहको प्रमुख आतिथ्यता सांसद सोबिता भण्डारीले गरेकी थिइन्। प्रतियोगिताको विजेता टोलीले जनही ५० हजार तथा उपविजेता टोलीले २५ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट व्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
साथै, फाइनल खेलका बीच बलियो नेपाल न्युट्रिसन इनिसिएटिभले गण्डकी प्रदेशका खेलाडीहरू सिनियर राष्ट्रिय टिमका करण केसी तथा यू–१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीको पछिल्लो खेल प्रदर्शन तथा देशलाई महत्वपूर्ण प्रतियोगिता जिताउँदै उच्च नाम राख्न सफल भएकोमा नगद पुरस्कारसहित सम्मान गरेको छ।