सेयर बजार न्यूनतम विन्दुमा झरेपछि नियामक निकाय गुहार्दै लगानीकर्ता

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

सेयर बजार न्यूनतम विन्दुमा आइपुगेपछि लगानीकर्ताहरू नियामक निकायसमक्ष गुहार माग्न थालेका छन्। 

गत २० चैतमा अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सेयर बजार सुधारका ८९ वटा बुँदा माग राखेपछि सोमबार लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेका छन्। कार्यालयमै पुगेर लगानीकर्ताले १० वटा बुँदे माग राखेका छन्। 

गत साता अर्थमन्त्रीले बजार बढाउन पहल गर्ने र राष्ट्र बैंक, धितोपत्रसमक्ष समन्वय गर्ने बताएका थिए। तर, बजार झनै घट्दोक्रममा रहेकाले लगानीकर्ताहरू  नियामक निकायसमक्ष धाउन थालेका हुन्।

लामो समयदेखि बजार निरन्तर घटिरहेका भन्दै मनोवैज्ञानिक आर्थिक दबाब परेको भन्दै बोर्डसमक्ष आफ्ना धारणा राखेका छन्। नेपालको पुँजी बजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम रु. १५ खर्बको हाराहारीभन्दा बढी गुमाइसक्दा पनि सम्बन्धित निकायहरू मौन रहनाले ५५ लाखभन्दा बढी लगानीकर्ता समस्या परेको लगानीकर्ताहरूको भनाइ छ। 

लगानीकर्ताले हालै मात्र सर्वोच्च अदालतले  रिट खारेज गरेको  ब्रोकर लाइसेन्स,  नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जलाई तत्काल अघि बढाउनुपर्ने, ब्रोकर कमिसन  घटाउनुपर्ने र बढीमा ०.१५ प्रतिशतबाट नबढ्ने बनाउने, दीर्घकालीन र अल्पकालीन लगानीकर्ताको  वर्गीकरण गरी तीन प्रतिशत र पाँच प्रतिशत  पुँजीगत लाभकर कायम गर्नुपर्ने लगानीकर्ताको भनाइ छ।

ब्रोकर कम्पनीमार्फत सुरु गर्ने भनिएको मार्जिन ल्यान्डिङ  व्यवस्थालाई अविलम्ब सुचारु गर्नुपर्ने, नेपाल  राष्ट्र बैंकले ल्याएका सेयर कर्जाको सीमा १२ करोड लागू गरिएकोमा उक्त १२  करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गर्नुपर्नेलगायत माग राखेका छन्।

सोमबार नेप्से सूचक सामान्य बढेर १८४४.०२ विन्दुमा आइपुगेको छ भने ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सुझावित समाचार