एनआरएनए नेतृत्वको जिम्मा डा. केसीलाई

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले पाएका छन् । शुक्रबार एक कार्यक्रमबीच अध्यक्ष रविना थापाले बाँकी ६ महिनाका लागि कार्यकारी अध्यक्षको जिम्मेवारी डा. केसीलाई हस्तान्तरण गरेकी हुन् । संघको १०औँ महाधिवेशनमा चरम विवादका कारण बहुपदीय प्रणाली अपनाएर तीनजना अध्यक्ष घोषणा गरिएको थियो ।

तीन अध्यक्षलाई १८ महिने कार्यकालमा ६–६ महिना कार्यकारीको जिम्मेवारी लिने व्यवस्था गरिएको थियो । कार्यकालको पहिलो ६ महिना कुलप्रसाद आचार्य र दोस्रो ६ महिना रविना थापाले अध्यक्षको जिम्मेवारी पाएका थिए । केसीले आफ्नो कार्यकालमा गैरआवासीय संघलाई एकताको सूत्रमा बाँध्ने पहिलो प्राथमिकता हुने बताएका छन् । 

संघको १०औँ महाधिवेशनमा वैचारिक बेमेलका कारण संघ दुई टुक्रा भएको थियो । विनोद कुँवरको अध्यक्षतामा अर्को संघ पनि स्थापना भएको छ । सो समूहसँग एकता गरी एकसाथ अगाडि बढ्ने लक्ष्य रहेको उनले बताए । त्यस्तै, अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन मध्यपूर्वका मुलुकसहित मलेसिया, दक्षिण कोरिया तथा वैदेशिक रोजगारीका लागि नेपाली गएका गन्तव्य मुलुकहरूमा विशेष ‘रोड सो’को आयोजना गरिने उनले बताएका छन् । 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)सँगको मिलेर हाल विभिन्न १६ देशमा नेपाली श्रमिकको सीप स्केल म्यामिङ सुरु कार्य सुरु भइसकेको छ । उक्त कार्यलाई थप विस्तार गरिने अध्यक्ष डा. केसीले बताए । नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई अघि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे । १० अर्ब सुरुवाती पुँजी रहेको यस फन्डलाई आगामी दिनमा थप बृहत् बनाइनेछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सो फन्डमा (आइपिओमार्फत) जोडिने अध्यक्ष डा. केसीले बताए । 

See More On

सुझावित समाचार