विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठको आग्रह

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। सो क्रममा सेवाग्राहीसँग अन्तर्क्रिया गर्दै उनले अन्तरसम्बन्धित निकायको संयुक्त बैठकलाई आवश्यक निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले सेवा प्रवाहको अवस्थिति, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाइजेसनलगायतका विषयमा चासो राखेका थिए।

उनले तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिनभित्र पेस गर्न निर्देशन दिएका छन्। विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने  पक्षमा नचुक्न पनि कर्मचारीहरूलाई उनको आग्रह छ।

संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउनका लागि पनि गुणात्मक परिवर्तनको पक्षमा दृढतापूर्वक लाग्न सबै राष्ट्रसेवकलाई अपिल गरेका छन्।

सुझावित समाचार