चिनियाँ परराष्ट्रमन्त्री भन्छन्– चीनको उच्च प्राथमिकतामा नेपाल

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
चिनियाँ परराष्ट्रमन्त्री भन्छन्– चीनको उच्च प्राथमिकतामा नेपाल

चिनियाँ स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री छिन गाङ र परराष्ट्रसचिव भरतराज पौड्यालबीच चिनियाँ परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्ता ।

चिनियाँ स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री छिन गाङले नेपाललाई चीनले उच्च प्राथमिकतामा राखेको बताउँदै भविष्यमा नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्ने वचनबद्धता जनाएका छन् । बेइजिङमा रहेका परराष्ट्रसचिव भरतराज पौड्यालसँग बिहीबार भएको भेटमा मन्त्री गाङले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तथा नेपाली नेतृत्वको चीन भ्रमणमा भएका सहमति कार्यान्वयन गर्दै सम्बन्ध थप सुदृढ गर्न चीन प्रतिबद्ध रहेको पनि बताए । चिनियाँ परराष्ट्र मन्त्रालयमा २० मिनेट शिष्टाचार भेट भएको थियो । 

भेटमा सहभागी चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्टेट काउन्सिलर गाङको भनाइ उद्धृत गर्दै टेलिफोनमा भने, ‘नेपाल चीनको उच्च प्राथमिकतामा छ । नेपाल र चीनको सम्बन्ध राम्रो छ, समस्यारहित छ । अझै यसलाई थप सुदृढ गरौँ । नेपालको आर्थिक–सामाजिक विकासमा चीन सकेको मद्दत गर्न तयार छ ।’ गाङले बेइजिङमा बिहीबार नै इरान र साउदी अरबका विदेशमन्त्रीलाई स्वागत गरेका थिए । 

पौड्यालले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका थिए भने नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । नेपाल–चीन नाका दोहोरो सञ्चालन भएकोमा पनि पौड्यालले चीनलाई धन्यवाद दिएको कूटनीतिक स्रोतले जनाएको छ ।

 परराष्ट्रसचिव पौड्यालले नवनियुक्त चिनियाँ स्टेट काउन्सिलर गाङलाई बधाइ दिँँदै उनको समयमा दुई देशबीच सहकार्य बढ्ने विश्वास व्यक्त गरेका थिए । भेटपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीच लामो समयदेखिको सुदृढ द्विपक्षीय सम्बन्ध तथा सहकार्यबारे छलफल भएको उल्लेख छ ।

‘भ्रमणहरूको आदानप्रदान, विकास सहायता, व्यापार, लगानी, पर्यटनलगायत विषयमा छलफल भएको थियो,’ परराष्ट्रले भनेको छ । नेपाललाई पर्यटन गन्तव्यको सूचीमा राखेकोमा सचिव पौड्यालले धन्यवाद दिएका थिए । पौड्यालसँगै भेटवार्तामा नेपाली राजदूत श्रेष्ठ, उत्तरपूर्व महाशाखा प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए । सचिव पौड्याल नेपाली प्रतिनिधिमण्डलसहित बुधबार बेइजिङ पुगेका थिए । 

 कूटनीतिक परामर्श  संयन्त्रको बैठक आज
नेपाल र चीनका परराष्ट्रसचिवहरूबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक शुक्रबार हुने भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्यालले गर्नेछन् भने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका परराष्ट्र मन्त्रालयका उपमन्त्री (जो परराष्ट्रसचिवसरह मानिन्छन्) सुन वेइदोङले गर्नेछन् । गत वर्ष यो बैठक भिडियो माध्यमबाट भएको थियो । 

बैठकमा चिनियाँ सहयोगका परियोजनाको समयबद्ध कार्यान्वयनलगायत द्विपक्षीय आर्थिक मुद्दामा छलफल हुनेछ । व्यापार, वाणिज्य, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको आदानप्रदानका विषय पनि छलफलका एजेन्डा छन् । 

सुझावित समाचार