बिहान राम्रो भए दिन राम्रो हुन्छ । बिहानीलाई रमाइलो बनाउनका लागि योगले राम्रो भूमिका खेलेको हुन्छ । योग गर्दा मन शान्त रहन्छ, शरीर उत्साह र उमंगले भरिन्छ । बिहानको समयमा योग गर्दा फ्रेस महसुस हुने मात्रै होइन, शरीरको ऊर्जा पनि बढ्छ । तर, कुनै पनि योगासन विज्ञसँग परामर्श गरेर मात्रै सुरु गर्नु राम्रो हुन्छ ।
सूर्य नमस्कार : शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि सूर्य नमस्कारको अभ्यास निकै राम्रो हुने विज्ञहरूको सुझाव छ । यसभित्र विभिन्न किसिमका योगासन हुन्छन् । बिहान सूर्यको किरणको स्पर्शमा सूर्य नमस्कार गर्नाले शरीरमा ऊर्जा र भिटामिन डी मिल्छ, जसको कारणले मानसिक तनावसमेत कम हुन सघाउँछ । त्यस्तै, तौल सन्तुलित हुन्छ । सूर्य नमस्कारबाहेक पनि अरू केही योगासनको अभ्यासले प्रभातलाई शुभ बनाउन सकिन्छ ।
भुजंगासन : भुजंगासनले शरीर लचिलो बनाउँछ र ढाडलाई बलियो बनाउँछ । पेटको बोसो घटाउन पनि यो निकै प्रभावकारी छ ।
ताडासन : यो आसनले घुँडालाई मजबुत बनाउँछ । शारीरिक र मानसिक सन्तुलन विकास गर्छ । करङलाई स्वस्थ राख्छ ।
त्रिकोणासन : यसले एसिडिटीबाट छुटकारा दिलाउँछ । पाचन प्रक्रियालाई दुरुस्त राख्छ । चिन्ता, तनाव, कम्मर तथा पिठ्युँमा हुने दुखाइ कम गर्छ । गर्दन, पिठ्युँ, कम्मर र खुट्टाका नसा मजबुत बनाउँछ ।
बालासन : केही कठिन आसनहरूको अभ्यासपछि बालासन गरेर शरीरलाई आराम प्रदान गर्न सकिन्छ । डिप्रेसन, माइग्रेनलगायत समस्या कम गर्न यसले निकै ठूलो भूमिका खेल्छ । रक्तसञ्चार ठीक गर्छ । पिठ्युँ र कम्मरको दुखाइ कम गर्छ ।