आकांक्षी धेरै भएपछि जसपाले रोक्यो एक मन्त्री

शनिबार, १८ चैत, २०७९
डिजिटल संस्करण

दुई मन्त्रालय पाए पनि जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले रणनीतिक रूपमै सरकारमा एक मन्त्री मात्रै पठाएका छन् । शिक्षामन्त्रीमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नाम पठाए पनि वनमन्त्रीको नाम सिफारिस गरिएन । 

जसपामा मन्त्रीका आकांक्षी धेरै छन् । अध्यक्ष यादवले बारा २ को उपनिर्वाचन र थप एक मन्त्रालय पाउन सक्ने सम्भावनालाई हेरेर तत्कालका लागि एक मन्त्रालय ‘होल्ड’मा राखेको स्रोत बताउँछ । तर, अध्यक्ष यादवले समय अभावका कारण अर्को नाम पठाउन नसकेको दाबी गरे । ‘नभ्याएर नै । छलफल गरेर उचित समयमा उचित व्यक्ति पठाउँछौँ,’ उनले भने, ‘हामी मात्र होइन, कांग्रेसले पनि चारजना पठाएको छैन ।’ 

जसपाका एक नेताका अनुसार मधेसबाट मन्त्रीको दाबेदार धेरै हुँदा अर्को नाम टुंगिन नसकेको हो । ती नेताका अनुसार १२ जना संघीय सांसदमध्ये अधिकांश आकांक्षी छन् । तर, राजकिशोर यादव, प्रदीप यादव र नवलकिशोर साह बलियो दाबेदार हुन् । आकांक्षी धेरै भएको अवस्थामा आधा–आधा कार्यकाल दिने गरी छलफल अघि बढेको उनले बताए । 

प्रधानमन्त्रीसँग बाँकी ६ मन्त्रालयमध्ये हेरफेर हुने सम्भावनाका कारण पनि जसपाले अर्को एक मन्त्रीको नाम पठाउन हतार नगरेको अर्का एक नेताको दाबी छ । उनका अनुसार सरकारबाट बाहिरिने र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नआउने संकेतपछि बाँकी मन्त्रालयको भागबन्डामा थप एक मन्त्रालय पाउने सम्भावना रहेको जसपाका नेताहरूको बुझाइ छ । ‘हामीले सुरुदेखि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय मात्रै छुट्याइएको थियो,’ ती नेताले भने, ‘नयाँ परिस्थिति बनेसँगै त्यो संख्या दुईबाट तीनमा पुग्ने या वनको साटो अर्को राम्रो मन्त्रालय पाउने सम्भावना बढेको छ । भित्र यही प्रयास भइरहेकाले नाम पठाउन हतार नगरेका हौँ । नत्र अध्यक्षलाई सर्वाधिकार दिएको अवस्थामा एउटा नाम पठाउन समस्या थिएन ।’ 

प्रचण्डको सरकार बनेसँगै जसपा पहिलोपल्ट सरकारमा गएको हो । एमालेसँगको गठबन्धनमा सरकार गठन हुँदा सरकारलाई समर्थन र विश्वासको मत दिए पनि भागबन्डामा नमिलेपछि जसपा सरकारमा सहभागी भएको थिएन ।

See More On

सुझावित समाचार