नयाँ वर्षको पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव हुने

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ ।

होटेल व्यवसायीहरूको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा चैत ३० गते भैरहवामा खाना महोत्सव हुन लागेको संगठनका अध्यक्ष पीताम्बर न्यौपानेले जानकारी दिए । आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षित गर्न एकदिने सडक खाना महोत्सव आयोजना गर्न लागिएको  अध्यक्ष न्यौपानेले बताए । कोभिड– १९ पछि नेपाल तथा सीमा क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

सयवटा स्टल रहने उक्त महोत्सवमा तारे होटेलजन्य आठवटा, रेस्टुरेन्टजन्य ४० वटासहित थारू, नेवारी, मगर परिकारका विभिन्न स्टलहरू रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए । कार्यक्रममा स्थानीय कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन् ।

सुझावित समाचार