‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण

म्याग्दी सदरमुकाम बेनीमा  सम्पन्न प्रथम ‘म्याग्दी कप– २०७९’ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुलामञ्चमा भएको फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुवै टिमबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा कालीपुल युनाइटेडलाई ६–५ ले हराउँदै पश्चिम म्याग्दी युवा क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो ।

कालीपुल युनाइटेडका खेलाडीले प्रहार गरेको पाँचौँ तथा निर्णायक पेनाल्टी पश्चिम म्याग्दीका गोलरक्षक सजिन किसानले रोक्नु कालीपुल युनाइटेडका लागि दुर्भाग्य बन्यो । 

प्रतियोगिताको विजयी टिम पश्चिम म्याग्दी युवा क्लबले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कालिपुल युनाइटेडले ७० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुनमगर घोषित भए भने सर्वाधिक गोलकर्ता कालीपुल युनाइटेडका विनम थजाली भए । थजालीले प्रतियोगिता अवधिभर आठ गोल  गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट गोलकर्तामा कालीपुल युनाइटेडका सन्दीप क्षत्री, उदीयमान खेलाडी सनम विक, अनुशासित टिममा जनप्रिय युवा क्लब दरबाङलाई सम्मान गरिएको थियो । अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही सात हजार पाँच सय रुपैयाँ र ट्रफी, उत्कृष्ट युवा खेलाडीलाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुवेदीलगायतले ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरेका थिए । म्याग्दी कप– २०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघको सहआयोजनामा चैत १ गतेदेखि सुरु भएको  प्रतियोगितामा १० क्लबले सहभागिता जनाएका थिए ।

सुझावित समाचार