प्रदेशका मन्त्री सञ्चार मन्त्रालयमा, सञ्चारसम्बन्धी अधिकार बाँटफाँट र कार्यान्वयनमा देखिएको जटिलता समाधानको प्रयास

कानून र अभ्यासमा एकरुपता ल्याउन गहन छलफल

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँट र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्ने प्रयास गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको पहलमा बिहिबार सिंहदरवारमा कानून निर्माणमा आपसी समन्वय गर्ने, संघले प्रदेशसँग र प्रदेशले संघसँग समन्वय गरी सूचना तथा सञ्चारको क्षेत्रमा देखिएका द्धिविधा हटाई यस क्षेत्रको बिकास र बिस्तारलाई प्रभावकारी ढंगले अगाडि बढाउने बिषयमा छलफल गरिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णा केसी, मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, सञ्चार महाशाखा प्रमुख नेत्र सुवेदी, प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारी, फ्रिक्वीन्सी व्यवस्थापन महाशाखा प्रमुख गौरव गिरी, सूचना तथा प्रसारण बिभागका महानिर्देशक कृष्ण नेपाल, हुलाक सेवा बिभागका महानिर्देशक इन्दु घिमिरे, नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापाकाको सचिवालयका मानबहादुर घर्ती सहभागी थिए । 

आमन्त्रण गरेर पनि कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रतिनिधिको छलफलमा उपस्थिति हुन नसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

कार्यक्रममा कार्यविभाजन नियमावली २०७४ बमोजिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई तोकिएका सञ्चारसँग सम्बन्धित १४ वटा बिषयमा छलफल गरिएको थियो । उपकरणको फाइल प्रदेशलाई हस्तान्तरण नगर्दा प्रदेश अन्तर्गतका एफ एम रेडियोको नियमनमा समस्या आएको, टेलिभिजनको प्रसारण क्षेत्रका बारेमा कानूनी अस्पष्टतालाई प्रष्टयाउनु पर्ने, स्थानीय तहलाई हस्तान्तरण गरिएका एक सय वाट भन्दा कम क्षमता रेडियोको नियमनको समस्या सम्बोधन गरिनु पर्ने, टेलिभिजनको अनुमति प्रदेशबाट र बितरणको व्यवस्था संघबाट गर्न सकिने संभावनाको खोजी गर्नु पर्ने, लोककल्याणकारी बिज्ञापन वितरण र भुक्तानी प्रदेशबाट हुनु पर्ने, आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रेस काउन्सिलको प्रादेशिक इकाई स्थापना गरी प्रादेशिक सञ्चार माध्यम व्यवस्थापन र नियमन गर्ने निकायसँग समन्वय गरिनु पर्ने, पत्रकार कल्याण कोष प्रदेशबाट सञ्चालन गर्नु पर्ने, आम सञ्चार प्रतिष्ठान प्रदेशस्तरबाट सञ्चालन गर्नु पर्ने, प्रदेशस्तरमा डाटा सेन्टर र साइबर सुरक्षा तथा प्रतिरक्षा प्रणालीलाई व्यवस्थित बनाइनु पर्ने, मौलिक चलचित्र र बृत्तचित्र निर्माण प्रदेशबाट हुनु पर्ने, सूचना र सञ्चारको क्षेत्रमा काम गर्न प्रादेशिक तहमा एकीकृत संरचना निर्माण गर्ने कानून बन्नु पर्ने सुझाव छलफलमा प्रदेशका मन्त्रीहरुबाट उठाइएको थियो । 

मन्त्री शर्माले संविधान र कानूनले निर्देश गरेका बिषय प्रदेशमा हस्तान्तरण गर्न संघले कुनै कन्जुस्याई नगर्ने बताइन् । मन्त्री शर्माले भनिन्, ‘आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा पनि प्रदेशसँग समन्वय गरी सूचना तथा सञ्चार क्षेत्रका योजनालाई समन्वयात्मक हिसावले अगाडि बढाउनु पर्ने पर्ने हुन्छ । सूचना प्रविधिको युगमा सेवा प्रवाहलाई सरल बनाउन सहकार्य गरेर अगाडि बढौँ ।’ उनले सेवा प्रवाह हुने क्षेत्रमा टेलिकमको सेवा बिस्तारलाई प्राथमिकता दिनु पर्ने बताइन् । 

बागमती प्रदेशका मन्त्री श्रेष्ठले संविधानको अनुसूचीमा साझा सूचीमा रहेका बिषय कार्यान्वयनमा संघ र प्रदेश अलमलिए जस्तो देखिएको र यस्ता बिषयलाई आपसी सम्वादका माध्यमबाट समाधान गर्दै लैजानु पर्ने बताए । ‘संघ र प्रदेशका वीचको बुझाईमा एकरुपता ल्याउन यस्ता छलफल उपयोगी हुनेछन्,’ मन्त्री श्रेष्ठले भने । 

कर्णाली प्रदेशका मन्त्री जिसीले संघ र प्रदेशका वीचको बुझाईमा एकरुपता कायम हुन नसके कार्यान्वयन पक्ष जटिल हुने बताए । कर्णालीको भूगोलले पनि कानून निर्माणलाई प्रभावित पारेको उनले बताए । ‘अहिलेसम्म भएको प्रदेशको संस्थागत बिकासलाई प्रगति मान्नुपर्छ,’ उनले भने । 

लुम्बिनी प्रदेशका मन्त्री केसीले प्रदेशमा कानून निर्माण, कर्मचारी अभाव, बुझाइमा अस्पष्टता जस्ता समस्या रहेको बताए । मधेश प्रदेशका मन्त्री सिंहले आफनो मन्त्रालयमा सचिव नरहेको, निमित्त सचिव पनि नरहेको, संघीय व्यवस्था कसैको दया माया र कृपाले होइन, रगत पसिना बगाएर आएको बताए । उनले सञ्चारसँग सम्बन्धित बिषयका समस्याको फेहरिस्त पनि प्रस्तुत गरे । गण्डकी प्रदेशका प्रतिनिधि घर्तीले आफनो प्रदेशमा डाटा सेन्टर सूचना प्रविधि पार्कको काम शुरु गरिएको बताए । 

सञ्चार मन्त्रालयका सचिव अर्यालले इजाजत दिने प्रदेशका निकायलाई नियमन गर्ने अधिकार दिइनुपर्ने, छलफलमा उठेका विषयका नीति, कानून र प्रक्रियाका बारेमा मन्त्रालयमा छलफल गरी निष्कर्षमा पुग्ने, संघ र प्रदेशको समन्वयमा नै सूचना तथा सञ्चार क्षेत्रसँग सम्बन्धित कानून बनाउन उपयुक्त हुने बताए । 

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले प्रादेशिक तहबाट सञ्चार माध्यम व्यवस्थापन र नियमनसँग सम्बन्धित कार्य अभ्यासमा आएका चुनौती र समाधानका उपायका बारेमा प्रस्तुती दिएका थिए । बागमती प्रदेशको अभ्यास अन्य प्रदेशका लागि पनि उपयोगी हुने र आगामी दिनमा यस्ता सम्वादलाई निरन्तरता दिने समझदारीका साथ छलफल टुंग्याइएको थियो ।

सुझावित समाचार