बाँसबारीमा युलेन्स स्कुलको शाखा खुल्ने

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

ललितपुरको खुमलटारमा सञ्चालन हुँदै आएको युलेन्स स्कुलले शैक्षिक सत्र ०८० बाट काठमाडौंको बाँसबारीमा शाखा सञ्चालन गर्ने भएको छ । हाललाई कक्षा एकदेखि आठसम्म पढाइ हुने तथा आगामी वर्षदेखि क्रमशः माथिल्ला कक्षाहरू पनि सुचारु हुने गरी शाखा सञ्चालनमा आउन लागेको हो ।

मुनाफा वितरण नगर्ने कम्पनीअन्तर्गत संस्थापित युलेन्स एजुकेसन फाउन्डेसनमार्फत युलेन्स स्कुल सञ्चालन हुँदै आएको जनाइएको छ । नेपाललाई माया गर्ने स्विस व्यवसायी एवं समाजसेवी गाई युलेन्सको प्रेरणा र आर्थिक सहयोगमा ०६४ सालदेखि खुमलटार ललितपुरमा युलेन्स स्कुल सञ्चालनमा आएको हो ।

फाउन्डेसन सार्वजनिक प्रकृतिको संस्था भएकाले कुनै सेयर होल्डर नहुने भएकाले स्कुल सञ्चालनबाट बचत भएको सम्पूर्ण रकम पुनः स्कुलकै भौतिक पूर्वाधार तथा गुणस्तर अभिवृद्धिमै लगानी हुँदै आएको फाउन्डेसनले जनाएको छ । यसले गरिबीको रेखामुनिका आर्थिक अवस्थामा रहेका केटाकेटीलाई निःशुल्क शिक्षाको प्रबन्ध गर्दै आएको जनाइएको छ । 

फाउन्डेसनले विद्यार्थीको यातायात समय घटाउने र गुणस्तरीय शिक्षाका निम्ति विद्यार्थीको बढ्दो चापलाई थोरै भए पनि सम्बोधन गर्न नयाँ शाखा सञ्चालन गर्न लागेको जनाएको छ । यो शाखाका कारण बालाजु–महाराजगन्ज–बुढानीलकण्ठदेखि जोरपाटी–चाबहिल क्षेत्रका बालबालिका खुमलटारसम्म पुग्नुपर्ने बाध्यता घट्ने फाउन्डेसनले जनाएको छ । त्यस्तै, केही सय नयाँ विद्यार्थीका निम्ति गुणस्तरीय शिक्षाको अवसर सुनिश्चित हुने जनाइएको छ । 

नेपालमै ‘वल्र्ड–क्लास एजुकेसन’, नेपालीका लागि ‘वल्र्ड–क्लास एजुकेसन’ भन्ने मान्यताका साथ स्कुल सञ्चालनमा रहेको जनाइएको छ । त्यसैअनुसार कक्षा ११ र १२ को समकक्षी विश्वव्यापी रूपमा ख्यातिप्राप्त इन्टरनेसनल ब्याकुलेरेटेड कार्यक्रम ०६९ सालमा नेपालमै पहिलोपटक भित्र्याएको फाउन्डेसनले दाबी गरेको छ । यस कार्यक्रमअन्तर्गत स्कुलबाट हालसम्म आठ सय ४८ जना विद्यार्थीले शैक्षिक उपाधि लिइसकेको जनाइएको छ । स्कुलबाट हालसम्म पाँच सय ६४ जना विद्यार्थीले एसइई–एसएलसी र चार सय ६७ जना विद्यार्थीले  कक्षा १२ उत्तीर्ण गरिसकेको जनाइएको छ । 

सुझावित समाचार