कोहलपुरमा टमाटरले होली खेल्ने तयारी

सोमबार, २२ फागुन, २०७९
डिजिटल संस्करण

बाँकेमा भारतीय संस्कृतिको प्रभाव भएकोले यहाँका सर्वसाधारण रङ र अबिरले खुलेर होली खेल्छन्। होली खेल्नेहरू डिजे साउन्डमा नाचगानसमेत गर्छन्। 

होलीको अवसरमा नेपालगन्ज, कोहलपुर, राँझा, खजुराका सडक रङ र अबिरले रंगिन्छन्। युवाको समूह एकअर्काको लुगा च्यातेर उडाउँछन्। तर, यो वर्ष फरक तरिकाले होली मनाइने भएको छ। 

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले रङ र अबिरको साटो गोलभेंडाले होली खेल्ने भएको छ। कोहलपुर नगरपालिका ११ गोलपार्कमा बिहान ९–१० बजेसम्म टमाटरले होली खेल्न लागेको नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए। 

कोहलपुरलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले नाट्टाले होलीको अवसरमा गोलभेंडा उत्सव गर्न लागेको उनले बताए। नेपालमा यो उत्सव पहिलो भएको आयोजकले दाबी गरेको छ।

‘एकातिर पर्यटक आकर्षिक गर्न सहयोग पुर्याउने छ। अर्काेतर्फ किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास छ,’ उनले भने, ‘यो उत्सवले सेन्थेटिक रङले पार्ने नकारात्मक प्रभावबाट सर्वसाधारणलाई जोगाउनेछ।’ 

स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात छ। यो पर्व नेपालमा मनाइने होली जस्तै हो। यस फेस्टिभलमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गरिन्छ।

टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेंडा सीधै किसानबाट खरिद गर्ने बाँके पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। ‘सकेसम्म स्थानीय किसानले उत्पादन गरेको टमाटर खरिद गरिनेछ,’ उनले भने, ‘टमाटर खरिदका लागि कोहलपुर र बैजनाथका किसानसँग समन्वय गरेका छौँ।’

होटेल एसोसियसन अफ नेपाल बाँकेको सह–आयोजना हुने ‘गोलभेंडा उत्सव नेपाल–२०२३’लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघले सहकार्य गरेका छन्। गोलभेंडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकतामा रौनक थप्न सहकार्य गरेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए। ‘फागु पूर्णिमा होलीको विकल्पका रूपमा नभई यसलाई त्यसको सहायक उत्सवका रूपमा लिएका छौँ,’ उनले भने।

पर्यटकीय दृष्टिकोणले गोलभेंडालाई लिएर स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाउने गरेको अध्यक्ष सिग्देलले बताए । उनले स्वास्थ्यवर्द्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेंडाको प्रयोगले छालालाई राम्रो पनि बनाउने बताए। 

‘यो एउटा अभियान हो। यसलाई कोहलपुरमा स्थापित गर्न सकिए पर्यटकका लागि कोहलपुरलाई पश्चिम नेपाल गन्तव्य बनाउन सकिन्छ,’ सिग्देलले भने, ‘भाइचारा, सद्भाव र रंगहरूको पर्व होलीजस्तै देखिने यो पर्व होली पर्वका अवसर पारेर भोलिका दिनमा स्वदेशी तथा विदेशी पर्यटकलाई निम्त्याउन सहज हुने विश्वास गरेका छौँ।’
 

See More On

सुझावित समाचार