चर्च ब्वाइज युनाइटेडले डेब्यु खेलमा स्मरणीय जित निकाल्दा आठौँपटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब हिमालयन शेर्पासँग अंक बाँड्न पुग्यो । अर्काे खेलमा थ्री स्टारलाई हराउँदै एपिएफले सुखद सुरुवात गरेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको डेब्यु खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिसविरुद्ध स्मरणीय जित निकालेको छ । पहिलोपटक शीर्ष डिभिजन लिग खेलेको चर्च ब्वाइजले पुलिसविरुद्ध पुनरागमन गर्दै २–१ को जित निकालेको हो । जितसँगै गत सिजन ‘बी’ डिभिजन लिग च्याम्पियन भएको चर्च ब्वाइजले तीन अंक जोडेको छ । लगातार दोस्रो दिन नवप्रवेशी टोलीले सनसनीपूर्ण जित निकालेका छन् । शुक्रबार भएको उद्घाटन खेलमा अर्काे नवप्रवेशी क्लब खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको थियो ।
सुरुवाती गोल गर्दै १–० को अग्रता लिएको पुलिस रक्षापंक्तिको गल्तीका कारण हार व्यहोर्न बाध्य भयो । चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले मुख्य खेलाडीको अनुपस्थितिका बाबजुद तीन अंक प्राप्त भएको बताए । ‘हामीसँग विदेशी खेलाडी एकजना मात्रै थिए । यसैगरी, मुख्य खेलाडी अञ्जन विष्ट नहुँदा पनि राम्रो गर्न सक्यौँ । तीन अंक प्राप्त गरेका छौँ । योजनाअनुसार नतिजा आएको छ । अझै राम्रो गर्ने प्रयास गर्नेछौँ,’ हुमागाईंले भने । हुमागाईंकै प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध गत असोजमा मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेका थिए । अञ्जन चर्च ब्वाइजमा अनुबन्धित भएका छन् । भारतीय आइलिग क्लब केन्क्रेमा रहेका अञ्जन दुई सातापछि नेपाल फर्कनेछन् ।
शनिबार च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन आशिष चौधरी र विदेशी खेलाडी फ्राङ्कलिन क्विटे टलाले एक–एक गोल गरे । पुलिसका लागि रविशंकर पासवानले अग्रता दिलाएका थिए । खेलको १४औँ मिनेटमा पुलिसका लागि म्यान अफ दी म्याच रविशंकरले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आशिषले खेल १–१ को अवस्थामा ल्याए । ७०औँ मिनेटमा टलाले गोल गर्दै चर्च ब्वाइजलाई सुखद सुरुवात गराएका थिए । हारपछि नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । पहिलोपटक मुख्य प्रशिक्षक बनेर ‘टच लाइन’मा उभिएका घिमिरेले सामान्य गल्तीका कारण हार्न पुगेको बताए । ‘युवा खेलाडीले हामीले सोचेकोभन्दा राम्रो खेले । तर, हामीले सामान्य गल्तीका कारण खेल गुमायौँ । हामी अघिल्ला खेलमा अझै राम्रो गर्नेछौँ,’ घिमिरेले भने ।
एपिएफको सनसनीपूर्ण जित
विभागीय टोली एपिएफ फुटबल क्लबले सहिद स्मारक लिगमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको खेलमा एपिएफले तीनपटकको च्याम्पियन थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्यो । जितसँगै अघिल्लो सिजन रेलिगेसनबाट जोगिएको एपिएफले विदेशी खेलाडीको आगमनसँगै बलियो देखिने संकेत गरेको छ । एपिएफले तीन अंक जोडेको छ । ललितपुरको थ्री स्टारले हारबाट लिगको सुरुआत गर्यो । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले योजनाअनुसार पहिलो खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए । ‘हामी जितसँगै लिगको सुरुवात गर्न चाहन्थ्यौँ,’ पहिलोपटक मुख्य प्रशिक्षक सम्हालेका महर्जनले भने, ‘पछिल्लो सिजनको प्रदर्शनपछि सबै खेलाडीले मिहिनेत गरेका छन् । हामी सोहीअनुसार नतिजा चाहन्छौँ ।’ अघिल्लो सिजनबाट विभागीय टोली एपिएफले सहिद स्मारक ए डिभिजन लिगमा विदेशी खेलाडी खेलाउँदै आएको छ । पहिलो खेलमा एपिएफले अर्मान्ड बिडोम र म्यान अफ दी म्याच एडामा डौम्बियालाई मैदानमा उतारेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफलाई जित दिलाउन मणिकुमार लामा र विदेशी खेलाडी अर्मान्ड बिडोमले समान एक गोल गरे । दुईबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । ७२औँ मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गरे । मणिको प्रहारलाई थ्री स्टारका गोलकिपर अरुण ब्लोनले नियन्त्रणमा लिन सकेनन् । ८७औँ मिनेटमा बिडोमले बक्सबाहिरबाट गरेको प्रहार थ्री स्टारको डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि एपिएफका नवीन लामा, सनिस श्रेष्ठले केही अवसर गुमाएका थिए । थ्री स्टार फर्किएका मुख्य प्रशिक्षक मेघराज केसीले युवा खेलाडीमा अनुभवको कमी भएको बताए । ‘हामी सधैँ राम्रो खेल खेल्न चाहन्छौँ, तर कहिलेकाहीँ हुँदैन । युवा खेलाडीमा अनुभवको कमी हुँदा सोचेजस्तो नतिजा आएन,’ केसीले भने ।
मनाङ र हिमालयन शेर्पाले अंक बाँडे
शनिबारको अन्तिम तथा तेस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलसँगै दुवै टोलीले एक–एक अंक जोडे । कीर्तिमानी आठपटकको च्याम्पियन मनाङले खेलमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा खेलाइएको खेलमा मनाङले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । १४औँ मिनेटमा रोशन रानामगरले मनाङका लागि गोल गरे ।
म्यान अफ दी म्याच रोशनको प्रहार हिमालयन शेर्पाका रक्षक सञ्जित राईलाई लाग्दै गोलमा परिणत भएको थियो । खेल सकिन पाँच मिनेटअघि हिमालयन शेर्पाका सुरेश कुमालले बराबरी गोल गरे । मनाङका गोलकिपर दीप कार्कीले आफ्नो स्थान छोडेर अगाडि बढेको अवस्थामा सुरेशले गोल गरेका थिए ।