नवप्रवेशी खुमलटार युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार डेब्यु गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गरेको हो । विदेशी खेलाडी मेसोके ओलोमोउले खुमलटारका लागि निर्णायक गोल गरे । जितसँगै खुलटारले तीन अंक जोड्यो । खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामीले ए डिभिजन लिगको डेब्यु खेलमा राम्रो खेल्यौँ । आगामी दिनमा अझै राम्राे प्रदर्शन हुनेछ,’ मदनले भने । उनले दोस्रो हाफमा प्रदर्शन सुधार गर्दा जित निस्किएको बताए, ‘पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधार गर्यौँ । जसरी पनि जित्नुपर्ने थियो । त्यसमा सफल भयौँ,’ उनले भने । चोटका कारण खुमलटारका नियमित कप्तान रेजिन सुब्बा भने मैदान उत्रन पाएनन् । रेजिनले तीन खेल गुमाउने मदनले बताए । उनको साटो शुक्रबार जय गुरुङले कप्तानी गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । आक्रामक बनेको खुमलटारबाट खेलकोे ८९औँ मिनेटमा मेसोकेले गोल गरे । मेसोकेले जय गुरुङको पासलाई सदुपयोग गरेका थिए । खुमलटारले फ्रेन्ड्सविरुद्ध पाँच खेलाडी मैदानमा उतारेको थियो । अग्रपंक्तिमा मेसोकेसँगै स्टेफन बिनोङ तथा विदेशी खेलाडीहरू थेओपिलुस अपो, अभिषेक बर्मा र सनविल डी कोस्टाले उत्कृष्ट खेलेका थिए ।
फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले बल पोसेसनमा कमजोर भएको स्वीकार गरे । ‘पहिलो खेल थियो । प्रदर्शन औसत रह्यो । तर, बल पोसेसनमा कमजोर देखियो,’ श्रेष्ठले भने । उनले रक्षात्मक खेल्दा अन्तिम समयमा चुकेको बताए । ‘हामीले रक्षात्मक खेल खेलेका थियौँ । दुर्भाग्यवश, अन्तिममा गोल व्यहोर्न पुग्यौँ । विदेशी हाबी हुँदा दबाबमा पर्यौँ ।’