चैतभित्रै सेक्युरिटी प्रिन्टिङ प्रेसबाट ‘स्टिकर’ छाप्न सञ्चारमन्त्रीको निर्देशन

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्। 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क ‘स्टिकर’ छाप्न निर्देशन दिएकी हुन्। 
एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन्। यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उनले बताइन्। 

यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्ने योजना छ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिए। अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने रु. १० अर्ब जोगिने सरकारको अपेक्षा छ।
 

सुझावित समाचार