इन्फो–डेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच सहकार्य गर्ने सम्झौता भएको छ । इन्फो–डेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरूले आफ्नो बैंक तथा वित्तीय संस्थामार्फत एनसिएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गर्न मिल्ने व्यवस्था गराउने सम्झौता भएको हो ।
सम्झौतामा इन्फो–डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताअनुसार इन्फो–डेभलपर्सको कोर सिस्टम प्रयोग गरिरहेका विभिन्न सहकारी संस्थाहरूले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थामा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने व्यवस्था हुने उल्लेख छ ।
त्यस्तै, खाताबाटै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राही खातामा सजिलै फन्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ । उक्त सेवालाई सहकारी संस्थाहरूले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिने जनाइएको छ ।