आर्थिक कार्यक्रमको ५७ प्रतिशत बुँदामा शून्य प्रगति

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमको ५७ प्रतिशत बुँदामा चालू वर्षको सात महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अध्ययनले आर्थिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रममा सन्तोषजनक प्रगति नभएको देखिएको हो । 

बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले नेपाल उद्योग परिसंघले सेजनसँगको सहआयोजना र पायोनियर ल एसोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सिएनआई बजेट वाच’ सुरु गरेको थियो । त्यसअन्तर्गत सिएनआईले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो ।

सेजनले ती बुँदाको कार्यान्वयन अवस्थाका सम्बन्धमा हालै अध्ययन गरी तयार पारेको विवरणले चालू वर्षको माघ मसान्तसम्ममा आर्थिक क्षेत्रहरूसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका नीति तथा कार्यक्रममा सन्तोषजनक प्रगति नभएको देखाएको हो । चालू वर्षको माघ मसान्तसम्ममा ती बुँदाहरूमध्ये ३६ वटा बुँदाको प्रगति शून्य देखिएको हो ।  

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघ (सिएनआई)ले चालू आर्थिक वर्षको बजेटमा सम्बोधनका लागि सुझाएका बुँदाहरूमध्ये करिब ४८ प्रतिशत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम (बजेट)मा समेटिएका छन् ।

निजी क्षेत्रमैत्री बजेटले अर्थतन्त्रलाई समृद्धितर्फ उन्मुख हुन प्रेरित गर्ने हुँदा आर्थिक विकासका लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्रसँग गहिरो सहकार्यको अपरिहार्यता महसुस गरेका रूपमा यसलाई बुझिएको छ । तर, बजेटमा समेटिएका नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष सर्वाधिक महत्वपूर्ण हुने भए पनि चालू वर्षको पहिलो सात महिना (माघ मसान्त) बितिसक्दा पनि यसको प्रगति भने सन्तोषजनक देखिएको छैन ।

सुझावित समाचार