१९९० को भूकम्पमा ढलेको ललितपुरको पाटनस्थित भाइदेग मन्दिर आर्थिक अभावका कारण पुनर्निर्माण रोकिएको छ । ०७१ देखि पुनर्निर्माण थालिएको मन्दिरको पुनर्निर्माणका लागि अझै तीन करोड रकम अपुग देखिएको हो । झन्डै आठ वर्षअघिदेखि निर्माण थालिएको तीनतले मन्दिर अहिले अलपत्र छ ।
काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)का प्रमुख रोहित रञ्जितकारका अनुसार मन्दिरको छाना र टुँडालको काममा आर्थिक अभाव भएको हो । यो मन्दिरमा झिँगटीको छानो बनाइन्छ । मन्दिर तीन तलासम्म निर्माण गर्दा सवा चार करोड खर्च भइसकेको छ ।
केभिपिटीको प्राविधिक सहयोगमा सम्पदा संरक्षण समूहले मन्दिरको पुनर्निर्माण थालेको थियो । तर, आर्थिक अभाव भएपछि पुनर्निर्माण थालिएको लामो समयसम्म पनि मन्दिर पुनर्निर्माण नभएको हो । ‘आर्थिक समस्या नभएको भए मन्दिर तीन–चार वर्षअघि नै पुनर्निर्माण भइसक्थ्यो,’ उनले भने, ‘तर निर्माण गर्दै जाँदा आर्थिक अभाव भयो ।’
यो मन्दिर निर्माणका लागि ललितपुर महानगरपालिका, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नर्वेजियन एम्बेसीले आर्थिक सहयोग गरेका छन् । आर्थिक वर्ष ०७९÷८० मा ललितपुर महानगरले ५० लाख रुपैयाँ अनुदान दिएको थियो । तर, अझै तीन करोड रकम चाहिन्छ । हालसम्म मन्दिरको छाना र टुँडालबाहेक अन्य काम सकिएको छ । आर्थिक सहायता भयो भने एक वर्षभित्रै मन्दिर पुनर्निर्माण भइसक्ने केभीपिटीका प्रमुख रञ्जितकारको भनाइ छ ।
भाइदेग मन्दिर काष्ठकला, स्टा र माटोलगायत सामग्रीको प्रयोगबाट निर्माण गरिएको छ । सम्पदामा अन्य कंक्रिट वस्तु भने मिसाइएको छैन । यो मन्दिर पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका पालामा निर्माण भएको मानिन्छ । मल्लका चौतरिया भारो भगिरथ भैया भन्ने व्यक्तिले यो मन्दिर स्थापना गरेको किंवदन्ती छ । नेपाल भाषामा देग भन्नाले मन्दिरलाई जनाउँछ । भैया (भाइ)ले स्थापना गरेका कारण उनकै नाममा मन्दिरको नाम भाइदेग राखिएको थियो ।
यो मन्दिरको इतिहास करिब तीन सय ५० वर्ष पुरानो छ । संस्कृतिविद् हरिराम जोशीका अनुसार भारतमा मुगल शासकले बनारसस्थित काशी विश्वनाथ मन्दिर ध्वस्त पारेपछि चौतरिया भैयाले त्यहाँका देवतालाई पाटनमा ल्याएर मन्दिर स्थापना गरेका थिए । तर पाटनस्थित भूकम्पमा क्षति पुगेका अन्य मठमन्दिर पुनर्निर्माण भइसकेपछि यो मन्दिरको पुनर्निर्माण कार्य सरकारी चासोमा परेको थिएन । ९० सालको भूकम्पले यो मन्दिरलाई पूर्ण रूपमा ध्वस्त पारेको थियो । धेरै रकम लाग्ने भएकाले स्थानीयवासीले मन्दिर पुनर्निर्माणका लागि आँट गर्न सकेका थिएनन् । तर, आर्थिक सहयोगका लागि दातृ निकाय तयार भएपछि ०७१ देखि मन्दिरको पुनर्र्निर्माण सुरु भएको थियो ।