चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म)मा ०.८ प्रतिशतले आथिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । पहिलो त्रैमासमा सरकारी भुक्तानी नहुने भएकाले पनि वृद्धिदर अन्य अवधिको तुलनामा न्यून छ । यद्यपि, विगतका आर्थिक वर्षहरूको पहिलो त्रैमासको तुलनामा यस आवमा न्यून देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३ प्रतिशत थियो ।
सरकारले बाह्य क्षेत्रको दबाब कम गर्न वैशाखदेखि पुस मसान्तसम्म आयात कडाइको नीति लिएसँगै देशभित्र आर्थिक गतिविधि खस्किएर आर्थिक वृद्धिदर प्रभावित भएको छ । आव ०७७/७८ को पहिलो त्रैमासमा ०.९ प्रतिशतको वृद्धिदर प्राप्त भएको थियो । आव ०७६/७७ मा भने पहिलो त्रैमासमै २.७ प्रतिशतको वृद्धिदर प्राप्त भएको तथ्यांकले देखाएको छ ।
निर्माण क्षेत्र र खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर ऋणात्मक छ । कार्यालयका अनुसार निर्माण क्षेत्र २४ प्रतिशत ऋणात्मक छ भने खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर २९.२ प्रतिशतले ऋणात्मक छ । कृषि, वन तथा मत्स्यपालनतर्फको वृद्धिदर १.६ प्रतिशत छ ।
उत्पादनमूलक क्षेत्रको १.९ प्रतिशत, विद्युत्, ग्यास, वाष्प तथा एयर कन्डिसनिङ सप्लाई क्षेत्र २७.५ प्रतिशत, आवास तथा खाद्यान्नसम्बन्धी गतिविधिको ४५.८ प्रतिशतले वृद्धि भएको छ । वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर २२ प्रतिशत छ । घरजग्गा क्षेत्रको वृद्धिदर २.२ प्रतिशत छ । शिक्षा क्षेत्रको वृद्धिदर ०.३ प्रतिशतले ऋणात्मक छ । त्यस्तै, यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर पनि ०.३ प्रतिशतले ऋणात्मक छ ।
चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको सरकारले ४.५ प्रतिशतमा सीमित हुने अनुमान सार्वजनिक गरिसकेको छ ।