बालबालिकाहरू फरक खालका परिवेश, रहनसहनमा हुर्किएका हुन्छन् । त्यसैले विद्यालय जाँदा सुरुमा उनीहरूलाई फरक वातावरणमा घुलमिल हुन अप्ठ्यारो पर्न सक्छ । शिक्षकले कस्तो परिवारबाट आएको हो भनेर बुझ्न जरुरी हुन्छ । यस्तो अध्ययनपश्चात् उनीहरूसँग व्यवहार गर्नुपर्छ । विद्यालयमा होस् वा घरमा, बालबालिकालाई अरूसँग दाँज्नु हुँदैन ।
बालबालिकाले गलत गरेको वेला कुट्ने, पिट्ने दण्ड दिएर होइन, नरम र सरल भाषामा सम्झाउने गर्नुपर्छ । राम्रो काम गरेको वेला स्याबासी र हौसला दिने गर्नुपर्छ । बालबालिकाको इच्छा चाहनाअनुसार व्यवहार गर्नुपर्छ । सबै बालबालिका फरक गुण लिएर आएका हुन्छन् । कसैलाई गीत गाउने, नाच्ने इच्छा चाहना हुन्छ, कसैलाई गेम खेल्ने चाहना होला । कसैलाई भविष्यमा डाक्टर, पाइलट, इन्जिनियर इत्यादि बन्ने चाहना हुन्छ । उनीहरूका इच्छा र चाहना बुझेर सहयोग गर्नुपर्छ ।
बालबालिकाको स्वभाव निकै चञ्चले हुन्छ । राम्रा र नराम्रा दुवै कुरा छिटो टिप्ने हुन्छ । त्यसैले अभिभावकले गलत र सही कुराको पहिचान गराउँदै लानुपर्छ । परिवारमा झैझगडा भइरहने हो भने पछि गएर त्यसको समस्या बालबालिकामा देखिन सक्छ । बालबालिकाहरू किशोर अवस्थामा पुग्दा उनीहरूको व्यवहार पनि परिवर्तन हुँदै जान्छ । आफ्नो पहिचान विकास गर्दै लैजान्छन् । यतिवेला उनीहरूलाई अभिभावक र शिक्षकको मार्गदर्शन र सहयोगको अझै धेरै खाँचो हुन्छ । उनीहरूसँग मित्रवत् रूपमा प्रस्तुत हुने, उनीहरूले बोलेका कुरालाई महत्व दिने, सकारात्मक काममा प्रेरित गर्ने, अन्तक्र्रिया गर्ने, खेल्ने, आवश्यकताभन्दा धेरै आलोचना नगर्नेलगायत कुरा ख्याल गर्नुपर्छ ।