चार वर्षमा सम्पन्न गर्ने गरी हुलाकी राजमार्गअन्तर्गत कन्काई माई नदीको पुल निर्माणका लागि ठेक्का लागेको ११ वर्ष बित्योे । यतिका वर्षमा जम्मा ६० प्रतिशत काम सम्पन्न भएको छ । वर्षौैँदेखि अलपत्र पुल सम्पन्न गर्न भन्दै सरकारले पाँचपटकसम्म म्याद थपिसकेको छ । तैपनि पुल सम्पन्न नहुँदा स्थानीय निराश हुँदै आएका छन् ।
निर्माण कम्पनीको चरम लापरबाहीले पुल अलपत्र बन्दा पनि सरकारले प्रभावकारी ‘एक्सन’ लिएको छैन । ३१ जेठ ०६८ मा पप्पु र महादेव खिम्ती जेभीले २९ जेठ ०७२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका थिए । सात सय २४ मिटर लम्बाइ रहेको पुल बनाउन ३४ करोड नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, सुरुदेखि नै पप्पुको बदनियत देखियो । समयमै सम्पन्न गर्नेभन्दा विकास आयोजनाको ठेक्का लिने र होल्ड गरेर राख्ने काममा पप्पु लागेपछि नौ वर्षसम्म पुल निर्माणका खासै प्रगति हुन सकेन । पछिल्लो दुई वर्षयता महादेव खिम्तीले काम गर्न थालेपछि केही प्रगति देखिएको हो । हालसम्म करिब ५० प्रतिशत रकम निर्माण कम्पनीलाई भुक्तानी गरिएको हुलाकी राजमार्ग निर्देशनालय, आयोजना कार्यालय इटहरीले जनाएको छ ।
पछिल्लोपटक समेत गरी पाँचौँपटक म्याद थप्दा बल्ल ६० प्रतिशत काम भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए । महादेव खम्तीले काम गर्न थालेपछि भने प्रगति भएको उनी बताउँछन् । ‘बीचमा दुई–तीन वर्ष काम रोकिएको रहेछ । महादेवले सुरु गरेपछि प्रगति भएको छ,’ उनले भने ।
पाँचौँपटकको म्याद ०८० असार मसान्तमा सकिँदै छ । हालसम्म ६० प्रतिशत मात्र काम भएकाले बाँकी अवधिमा सबै निर्माण सकिने सम्भावना देखिँदैन । वर्षमा पाँच महिना मात्र काम गर्न सकिने भएका कारण पनि ढिलाइ भएको खतिवडाको भनाइ छ । ‘पुसदेखि वैशाखसम्म पाँच महिना मात्र काम गर्न सकिन्छ । बाँकी समयमा नदीमा पानीको चाप हुने भएकाले काम गर्न समस्या हुन्छ,’ उनले भने, ‘पाँच महिनाको काम हेर्दा लक्ष्यअनुसार नै देखिन्छ ।’
अहिले काम गरिरहेको महादेव खिम्ती अहिले तीव्र गतिमा निर्माण कार्य अघि बढाइएको बताउँछ । ‘हुलाकी राजमार्गअन्तर्गतको कन्काई माई पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ,’ महादेव खिम्तीका फिल्ड इन्चार्ज तेजप्रसाद न्यौपानेले भने, ‘हामीलाई यस वर्षमा सक्नुपर्ने बाध्यता छ । त्यसकारण पनि कामलाई तीव्रता दिएका छौँ । दुईवटा टोली बनाएर काम गर्दै छौँ । अब केही दिनभित्र फेरि कामदार थपेर काममा अझै तीव्रता दिनेछौँ ।’
झापा गाउँपालिका र गौरीगन्ज गाउँपलिका जोड्ने हुलाकी राजमार्गअन्तर्गको कन्काई माई पुल निर्माण नहुँदा दैनिक पाँच सय बढी यात्रु जोखिम मोलेर र पैसा तिरेर हिउँदमा बाँसको पुल र बर्खामा डुंगामा यात्रा गर्छन् । यही मौका छोपेर स्थानीय तहले डुंगा र बाँसको पुल सञ्चालनका लागि नदीसमेत ठेक्का लगाएको छ । ११ वर्षपछि यो पुल बन्नेमा आशा पलाएको गौरीगन्ज– १ कन्काई माई नदीको तटीय क्षेत्रका ईश्वर माझी बताउँछन् । ‘११ वर्षपछि बल्ल कामले गति लिएको छ ।
अहिलेसम्म यति धेरै कामदार ल्याएर काम भएको थिएन,’ उनले भने, ‘पुलको नक्सा पनि देखिएको छ । ठेकेदार भागेन भने अबचाहिँ दुई वर्षसम्ममा पुल निर्माण भइसक्छ कि भन्ने आस पलाएको छ ।’ पुल बनेदेखि वर्षौँदेखि पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता हट्ने गौरीगन्ज– १ की स्थानीय सेजवती राजवंशी बताउँछिन् । ‘यसरी बर्खामा डुंगामा र हिउँदमा बाँसको पुलमा पैसा तिरेर हिँडेको धेरै भयो । अलपत्र पुल अझै बनिसकेन । पुल बनेत यस्तो डर लाग्दो गरी त हिँड्नुपर्ने थिएन,’ उनले नयाँ पत्रिकासँग भन्छिन्, ‘तर, यसपटकको काम गराइ हेर्दा पुल बन्छ कि भन्ने आशा पलाएको छ ।’