राष्ट्रपतिको विषयले नजिकिँदै पुरानै गठबन्धनका दल

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति पाउन कांग्रेसले गरिरहेको जोडबल र एमालेमा शक्ति केन्द्रित हुन नदिन माओवादीले लिएको रणनीतिले नयाँ समीकरण बन्ने विश्लेषण

नयाँ सरकार गठन भएसँगै भत्किएको पुरानो पाँचदलीय गठबन्धनका घटक राष्ट्रपति निर्वाचनका कारण नजिकिन थालेका छन् । राष्ट्रपति निर्वाचनमा मनोनयनका लागि एक साता मात्रको समय बाँकी रहँदा राष्ट्रिय सहमतिको नाममा पाँचदलीय गठबन्धनले फेरि आकार लिने सम्भावना देखिएको हो । पछिल्लो समय नेताहरूको दौडधुपले पुरानो गठबन्धनको आकारको सम्भावनालाई संकेत गरेको विश्लेषण हुन थालेको छ ।

विमलेन्द्र निधि, नेता, कांग्रेस
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तय भइसकेको छ । सबै पार्टीसँग सहयोगको अपेक्षा गरेका छौँ । माओवादीसहित अरू दलहरू कांग्रेसको पक्षमा सकारात्मक रहेको पाएको छौँ । अहिले पनि छलफल भइरहेको छ ।

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल कांग्रेस र एमालेबीच राष्ट्रपतिमा एकले अर्कोलाई रोक्ने साझा स्वार्थले पाँचदलीय गठबन्धनले फेरि आकार लिने सम्भावना रहेको बताउँछन् । शक्ति गुमाएको कांग्रेसले सरकारलाई समर्थन गरेर राष्ट्रपति पाउन गरिरहेको जोडबल र माओवादीले एमालेमा शक्ति केन्द्रित हुन नदिन लिएको रणनीतिले नयाँ समीकरणसँगै पुरानै गठबन्धनको आधार तय भएको उनको विश्लेषण छ । ‘एमालेले राष्ट्रपतिलाई आफूअनुकूल प्रयोग गर्ने गरेको विगतले दलहरूमा त्रास देखिएको छ । कांग्रेस र माओवादी एमालेलाई राष्ट्रपतिमा रोक्ने विषयमा एक ठाउँमा छन् । सबै अवस्थाले यो समीकरण भत्किएर पहिलेकै गठबन्धनमा जाने सम्भावना छ,’ बरालले भने, ‘हातबाट सबै गुमाएको कांग्रेस सरकारलाई विश्वासको मत दिएदेखि राष्ट्रपतिमा गएर अडिएको छ । माओवादीले राष्ट्रिय सहमति या तटस्थ व्यक्तिको आवश्यकताको नाम दिएर केपी ओलीबाट मुक्ति पाउन खोजेको छ ।’

कांग्रेस, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको रूपमा लिँदै राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धनलाई ब्युँताउने प्रयत्नमा छन् । यसै सन्दर्भमा पछिल्लो समय कांग्रेस नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए । शुक्रबार जसपा पार्टी कार्यालय पुगेर पौडेलले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा यादवले पनि सकारात्मक जवाफ दिएका थिए । पौेडेललाई कांग्रेसबाट निर्विकल्प उम्मेदवारका रूपमा प्रस्तुत गरिँदै आइएको छ ।

उपेन्द्र यादव, अध्यक्ष, जसपा
छलफल भइरहेको छ । अहिले नै भन्न त सकिँदैन, तर अहिलेको अवस्थाका आधारमा पुरानो गठबन्धन ब्युँतने सम्भावना त रहने नै भयो । तर त्यो कांग्रेस, माओवादीको सक्रियतामा भर पर्छ ।

अध्यक्ष यादवले राष्ट्रपति निर्वाचनलगायतका विषयमा पौडेलसँग छलफल भएको जानकारी दिए । पछिल्लो समयमा नेताहरूको सक्रियताले पुरानो गठबन्धनको आकार तय हुने सम्भावनालाई नकार्न नमिल्ने उनको तर्क छ । ‘छलफल भइरहेको छ । अहिले नै भन्न त सकिँदैन, तर अहिलेको अवस्थाका आधारमा पुरानो गठबन्धन ब्युँतने सम्भावना त रहने नै भयो । तर, त्यो कांग्रेस, माओवादीको सक्रियतामा भर पर्छ,’ उनले भने । जसपा दोस्रोपटक संसद् विघटनमा सर्वोच्चको फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकार सहकार्य गरेको थियो । स्थानीय तह निर्वाचनमा सँगै उभिएको जसपा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समयमा भने सिट बाँडफाँटमा असहमतिपछि एमालेसँग सहकार्य गरेर निर्वाचनमा होमिएको थियो । तर, सरकार बनाउन समर्थन जनाएको जसपा वर्तमान सत्तागठबन्धनविरुद्ध उभिएको छ । 

शनिबार कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । तर, आफूले फरक प्रसंगमा प्रधानमन्त्रीसँग भेट गरेको उनले दाबी गरे । निधिले माओवादी कांग्रेसको राष्ट्रपतिको उम्मेदवारीको पक्षमा सकारात्मक रहेको बताए । कांग्रेसको पक्षमा एमालेबाहेकका दलहरू सकारात्मक रहेकाले पुरानै गठबन्धन एक ठाउँमा उभिने सम्भावना रहेको उनको भनाइ छ । ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तय भइसकेको छ । सबै पार्टीसँग सहयोगको अपेक्षा गरेका छौँ । माओवादीसहित अरू दलहरू कांग्रेसको पक्षमा सकारात्मक रहेको पाएका छौँ । अहिले पनि छलफल भइरहेको छ,’ उनले भने ।

कांग्रेस नेताहरू निरन्तर माओवादी नेताहरूसँग छलफलमा छन् । माओवादीले केही दिनमै राष्ट्रिय सहमतिको नाममा कांग्रेस उम्मेदवारलाई समर्थनको औपचारिक निर्णय आउने कांग्रेस नेताहरूले दाबी गर्दै आएका छन् । जसकारण, यसअघि टुटेको गठबन्धन एकठाउँमा आउने र ‘कोर्स करेक्सन’ हुने उनीहरूको भनाइ छ । एकीकृत समाजवादी सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वमा बनेको सरकारमा सहभागी बनेको छ । एकीकृत समाजवादीका शीर्ष नेताहरू कांग्रेस र माओवादीसँग निरन्तर सम्पर्कमा रहँदै आएका छन् । 

सुझावित समाचार