देशभर भएका ३६ घटनामध्ये ३४ ग्यास ‘लिक’ र दुई सिलिन्डर विस्फोटबाट, उपभोक्तालाई सचेतना अपनाउन विज्ञको सुझाव
खाना पकाउने ग्यास लिक भएर हुने आगलागी वा सिलिन्डर पड्किएर भएका दुर्घटनामा परी बर्सेनि कैयौँ नागरिकले ज्यान गुमाइरहेका छन् । कतिपय अंगभंग हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा ग्याससँग सम्बन्धित दुर्घटनामा १० जनाको ज्यान गएको छ, ४५ घाइते भएका छन् ।
गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टको सुझाब : कोठामा ग्यास गनाएजस्तो लागे बिजुलीका स्विच अन–अफ नगरौँ
प्रत्येकपटक खाना पकाइसकेपछि ग्यास रेगुलेटर राम्ररी बन्द भएको यकिन गरौँ । प्लास्टिकको पाइप नभई गुणस्तरीय होज पाइपको प्रयोग गरौँ । ग्यास सिलिन्डर सकेसम्म भान्सा कोठाबाहिर राखौँ । भरिएको अर्को ग्यास सिलिन्डर भान्सामा राख्दै नराखौँ । चुलो र सिलिन्डरको दूरी अलि टाढा हुनुपर्छ । झ्याल–ढोका भएको कोठालाई भान्साको रूपमा प्रयोग गरौँ । कोठामा ग्यास गनाएजस्तो लाग्यो भने बिजुलीका कुनै पनि स्विच अन–अफ नगरौँ ।
तीन वर्षमा देशभर ग्याससँग सम्बन्धित ३६ दुर्घटना भएको प्रहरीको तथ्यांक छ । जसमध्ये ३२ दुर्घटना ग्यास ‘लिक’ हुँदा भएका छन् । दुईवटा दुर्घटना भने सिलिन्डर विस्फोटबाट भएका छन् । ‘खाना पकाउने ग्याससँग सम्बन्धित अधिकांश दुर्घटना ग्यास ‘लिक’ हुँदा भएका छन् । सिलिन्डर विस्फोटपछि भएका दुर्घटना निकै कम छन् । त्यसैले भान्सामा ग्यास ‘लिक’ भए–नभएको जानकारी लिन उपभोक्ता आफैँ सचेत हुन आवश्यक देखिन्छ । उपभोक्ताले ग्यास चुलो, रेगुलेटर, पाइपको अवस्था वेलावेला परीक्षण गर्नुपर्ने हुन्छ,’ प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले भने ।
प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बिहीबार (४ फागुन)सम्म १३ घटना भएका छन् । जसमा दुईजनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । त्यस्तै, आव ०७८/७९ मा भएका १३ घटनामा परी पाँचको मृत्यु र १६ घाइते भएका थिए भने आव ०७७/७८ मा ग्याससम्बन्धी १० घटना भएका थिए, जसमा तीनजनाको ज्यान गएको थियो भने १० जना घाइते भएको प्रहरीको तथ्यांक छ ।
गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टले ग्याससम्बन्धी दुर्घटना न्यूनीकरणका लागि उपभोक्ताहरूले पनि उत्तिकै सचेतना अपनाउनुपर्ने बताइन । उनकाअनुसार प्रत्येकपटक खाना पकाइसकेपछि ग्यासको रेगुलेटर राम्ररी बन्द भए/नभएको यकिन गर्नुपर्ने, प्लास्टिकको पाइपको सट्टा गुणस्तरीय होज पाइपको प्रयोग गर्नुपर्ने, ग्यास सिलिन्डर सकेसम्म भान्सा कोठाबाहिर राख्नुपर्ने, भरिएको अर्को सिलिन्डर भान्सामा नराख्ने, चुलो र सिलिन्डरको दूरी अलि टाढा बनाउनुपर्ने, झ्याल–ढोका भएको कोठालाई मात्र भान्साको रूपमा प्रयोग गर्नेए तथा कोठामा ग्यास गनाएको महसुस भए बिजुलीका कुनै पनि स्विच अन–अफ गर्नु हुँदैन ।
हालसम्म २९ हजार सिलिन्डर नष्ट
निजी क्षेत्रले देशभर ५८ वटा ग्यास उद्योग सञ्चालन गरेका छन् । यी उद्योगका एक करोड ५० लाख सिलिन्डर बजारमा छन् । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ भने थप करिब ३५ लाख सिलिन्डरको संख्या यकिन गर्ने काम भइरहेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।
अहिलेसम्म १८ उद्योगले मात्रै मिति सकिएका २९ हजार एक सय ९६ थान ग्यास सिलिन्डर नष्ट गरेका छन् । सबैभन्दा धेरै कोसी ग्यास उद्योगले १० हजार एक सय ९० थान सिलिन्डर नष्ट गरेको छ । त्यस्तै, नेपाल ग्यासले नौ हजार सात सय २२, एचपी ग्यासले दुई हजार आठ सय ५३, सिद्धार्थ ग्यासले दुई हजार पाँच सय १५, सगरमाथा ग्यास उद्योगले एक हजार चार सय ६० थान सिलिन्डर मिति सकिएपछि नष्ट गरेका छन् ।
त्यसैगरी, गौरीशंकर ग्यास उद्योगले पाँच सय ९९, बाबा ग्यास उद्योगले पाँच सय ९४, त्रिशूल ग्यास उद्योगले तीन सय ९०, एभरेस्ट ग्यास उद्योगले दुई सय १५, लुम्बिनी ग्यास उद्योगले एक सय ५८, भेरी ग्यासले एक सय ५०, मारुती ग्यासले एक सय ४०, सुगम ग्यासले ९०, प्रिमा ग्यासले ५०, सुपर ग्यासले नौ र उग्रचण्डी ग्यासले पाँच थान सिलिन्डर मिति सकिएको पाएपछि नष्ट गरेको संघले जनाएको छ ।
ग्यास सिलिन्डरको उपभोग्य मिति कसरी चिन्ने ?
उदाहरणका लागि सिलिन्डरको पातामा D-21 लेखिएको छ, यसले सिलिन्डरको आयु २०२१ को अक्टोबरदेखि डिसेम्बरसम्म मात्र भएको जनाउँछ
ग्यास सिलिन्डरको माथिल्लो भागमा रहेको गोलाकार रिङसँग तीनवटा पाता जोडिएका हुन्छन् । तीमध्ये कुनै एक पातामा अंग्रेजी अक्षरहरू ए, बी, सी र डी तथा दुई अंकको संकेत चिह्न हुन्छ । यही संकेत चिह्नमा सिलिन्डरको आयु उल्लेख भएको हुन्छ । ‘ए’ले अंग्रेजी महिनाहरू जनवरी, फेब्रुअरी र मार्चलाई संकेत गर्छ । ‘बी’ले अप्रिल, मे र जुन, ‘सी’ले जुलाई, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।
उदाहरणका लागि सिलिन्डरको पातामा ‘बी २३’ लेखिएको छ भने सिलिन्डरको आयु सन् २०२३ को जुन महिनासम्म मात्रै भएको जनाउँछ । यो मितिपछि सिलिन्डर बजारबाट फिर्ता गर्नुपर्ने र उद्योगमा हाइड्रोस्टेटिक टेस्ट गर्नुपर्ने गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टले बताइन् ।
‘सिलिन्डरमा उल्लेख भएको मिति सकिएपछि मिति सकियो भन्ने हुँदैन,’ उनले भनिन्, ‘मिति सकिएको सिलिन्डरको गुणस्तर परीक्षण गर्दा पास भयो भने पुनः अर्को मिति राखेर बजारमा पठाइन्छ ।’ संकेत चिह्नमा लेखिएभन्दा बढी उमेरको सिलिन्डर बजारमा देखिएको खण्डमा उपभोक्ताले प्रयोग नगरी उजुरी दिनुपर्ने उनको भनाइ छ ।
सिलिन्डरको आयु २० वर्ष मात्रै
गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टका अनुसार नयाँ सिलिन्डरलाई ग्यास प्रयोगका लागि अनुमति दिएपछि १० वर्षसम्म परीक्षण गर्नुपर्दैन । ‘सिलिन्डर बजारमा जाँदा सुरुमा १० वर्षको मिति राखेर जाने गरेको छ,’ उनले भनिन्, ‘१० वर्षपछि हाइड्रोस्टेटिक टेस्ट गर्दा प्रयोगयोग्य देखिए थप पाँच वर्षका लागि अनुमति दिइन्छ ।’
यो मिति पनि सकिएपछि पुनः हाइड्रोस्टेटिक टेस्ट गर्दा प्रयोगयोग्य पाइए तीन–तीन वर्षमा परीक्षण गर्ने गरी बजारमा पठाइने गरेको विभागले जनाएको छ । २० वर्षपछि भने सिलिन्डरको आयु सकिने हुँदा बजारबाट संकलन गरी नष्ट गर्नुपर्ने उनको भनाइ छ ।
प्रत्येकपटक खाना पकाइसकेपछि ग्यास रेगुलेटर राम्ररी बन्द भएको यकिन गरौँ । प्लास्टिकको पाइप नभई गुणस्तरीय होज पाइपको प्रयोग गरौँ । ग्यास सिलिन्डर सकेसम्म भान्सा कोठाबाहिर राखौँ । भरिएको अर्को ग्यास सिलिन्डर भान्सामा राख्दै नराखौँ । चुलो र सिलिन्डरको दूरी अलि टाढा हुनुपर्छ । झ्याल–ढोका भएको कोठालाई भान्साको रूपमा प्रयोग गरौँ । कोठामा ग्यास गनाएजस्तो लाग्यो भने बिजुलीका कुनै पनि स्विच अन–अफ नगरौँ ।