‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथनमा टिम कोड क्राफ्टर्स विजयी

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा सिक्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’मा टिम क्राफ्टर्सले जितेको छ । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार रु. १५०,००० सहित प्रथम पुरस्कार जितेको हो । 

देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरू एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्समा काम गरेको जनाइएको छ । ह्याकाथनको अन्तिम दिन सम्बन्धित समूहको पिचिङपश्चात् विजयी समूहको घोषणा गरिएको आयोजकले जनाएको छ । विजयी टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्ने जनाइएको छ । त्यस्तै, पर्यटक क्षेत्रलक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोस्रो भई एक लाख रुपैयाँ जितेको उल्लेख छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अलर्ट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जितेको आयोजकले जनाएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरूलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरूमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । उनले भने, ‘यो कार्यक्रम महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्ति विकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन्बाइनरी छात्राहरूलाई अवसरका साथै उनीहरूलाई आवश्यक प्लाटफर्म प्रदान गरेको छ ।’

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डिइआई) प्रति आफ्नो प्रतिबद्धताअनुरूप महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उद्देश्यअनुरूप शिक्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको जनाएको छ । गल्र्स इन टेक र वुमन इन बिग डेटा साझेदारका रूपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरूलाई एकसाथ नवीन सोलुसन्स विकासका लागि अवसर प्रदान गरेको जनाइएको छ । 

ह्याकाथनमा विभिन्न विषयमा टक कार्यक्रम र कार्यशाला आयोजना गर्दै सहभागी छात्राहरूलाई आफ्नो प्रोजेक्टको विकासका लागि चाहिने सीप प्रदान गरिएको थियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरूले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरूबाट प्रशिक्षण पाएको जनाइएको छ । 

शिक्वल फाउन्डेसनका सहसंस्थापकहरू आस्था शर्मा र मेलिसा घिमिरेले सहभागी सबैलाई उहाँहरूको उत्साह र कडा परिश्रमका लागि कृतज्ञता व्यक्त गरेर आगामी ह्याकाथनका लागी तत्पर रहेको बताए । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन्बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लाटफर्म प्रदान गरेको जनाइएको छ ।  

सुझावित समाचार