साबिक विजेता पिप्ले युवा क्लब हेटौँडालाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब ललितपुर जारी सातौंँ राजर्षि जनक कपको सोमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार सम्पन्न खेलमा जावलाखेल युथ क्लब काठमाडाैंले साबिक विजेता पिप्ले युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमा १–० को अग्रता कायम गरेको जावलाखेल दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो। खेलको दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको पिप्ले युवा क्लबले २ गोल फर्काए पनि हार भने टार्न सकेन।
जावलाखेलको अग्रताका लागि खेलको १५ औँ मिनेटमा विशाल तामाङले पहिलो गोल गरेका थिए। सुनील खड्काको क्रसपासलाई विशाल तामाङले गोलपोस्टको दिशा दिएका हुन्। पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलको दोस्रो हाफमा पनि जावलाखेलले लगातार अग्रता बढाएको थियो। खेलको ७२ औँ मिनेटमा पिप्लेका विश्व लामाले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए।
पिप्लेका खेलाडी डिबास उराउको क्रसपासमा विश्व लामाले गोल गर्दै टिमलाई १–१ को अवस्था पुर्याएका थिए। त्यसको ५ मिनेटमै अर्थात्, खेलको ७७ औँ मिनेटमा जावलाखेलका लागि विनोद केसीले टिमका लागि दोस्रो गोल गर्दै पुनः अग्रता दिलाए। केसीले समिराज थोकरको क्रसपासमा हेडमार्फत आकर्षक गोल गरेका थिए भने खेलको अतिरिक्त समयमा जावलाखेलका हिसुब थपलियाले टिमका लागि तेस्रो गोल गरेका हुन्।
पिप्लेका सम्पूर्ण खेलाडी जावलाखेलको डी बक्समा पुगेको अवसरलाई सदुपयोग गर्दै हिसुब थपलिया गोल गर्न सफल भए। हिसुबको गोलसँगै ३–१ को अवस्थामा पुगेको जावलाखेलका खेलाडीले फल गरेपछि पिप्लेले डी बक्सनजिकैबाट फ्रिकिक पाएको थियो। उक्त अवसरलाई पिप्लेका दोना थापाले कुनै गल्ती नगरी गोलमा परिणत गरिदिएका हुन्। दोनाको गोलसँगै खेल ३–२ को अवस्थामा पुगेको होे।
यस्तै, खेलमा टिमको कप्तानी गर्दै उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका खेलाडी सिमान्त थापा म्यान अफ दी म्याच घोषित हुँदै ट्रफी र नगद १० हजार पुरस्कार हात पार्न सफल भए।
प्रतियोगिताअन्तर्गत सोमबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा चर्चब्वाइज युनाइटेड ललितपुर र सुदूरपश्चिम–११, धनगडीबीच प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिम–११, प्रि- क्वार्टरफाइनलमा पाहुना टोली युनाइटेड कुर्सेङ दार्जिलिङलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने चर्च ब्वाइज एक खेल बाई पाएर सीधै क्वार्टरफाइनलमा आएको हो।
बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा चलिरहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए। फागुन ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १० लाख राजर्षि जनक कप र उपविजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।