उत्तर–पश्चिम सिरियामा बसोवास गर्नेहरूका लागि ठूलो आवाजका साथ भत्किएका घरको आवाजले ब्युँझिने कुरा नयाँ होइन । दमास्कसस्थित सरकारले यो भेगमा पकड बनाई बसेका लडाकुलाई कमजोर बनाउन बमबारी गरिरहन्छ । बम विस्फोट र त्यसपछि आकाश गडगडाएर उड्ने लडाकु जेटका कर्कस आवाजको यहाँका मानिसलाई बानी परिसकेको थियो । दमास्कस र विद्रोही लडाकु समूहबीचको द्वन्द्वमा फसेकाले यो भेगमा झन्डै ४५ लाख जनसंख्याको जीवन पहिलेदेखि नै कठिन रहँदै आएको छ । यो भेगका झन्डै ९१ प्रतिशत मानिस बाँच्नका लागि सहायतामा निर्भर छन् ।
सोमबार झिसमिसेमा आएको ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही घन्टापछि आएको ७.५ रेक्टर स्केलको शक्तिशाली दोस्रो धक्काले पहिलेको कठिनाइमा रहेका उनीहरूको जीवन थप तहसनहस बनाइदिएको छ । ‘सुरुमा मलाई हेलिकोप्टरले ब्यारेल बम खसालेकोजस्तो लागेको थियो । म हत्तपत्त उठेर छोरालाई समात्न पुगेँ । हामी त बाँच्न सफल भयौँ, तर सबै भाग्यमानी रहेनन् । हुन त हामीलाई भग्नावशेषबाट मानिसको उद्धार गर्ने बानी परिसकेको छ । तर, यसपटक स्थिति विकराल स्तरको छ । भूकम्पपछि भत्केको संरचनामा अझै थुप्रै मानिस फसेका छन् । हामीसँग तिनको उद्धार गर्न मिल्ने आवश्यक उपकरण छैन । फसेका धेरैको ज्यान जान सक्छ,’ सरमादा गाउँका ३६ वर्षीय इस्माइल अलाब्दुल्लाहले भूकम्प सम्झिँदै भने ।
एक दशकभन्दा लामो समयदेखि चलिरहेको गृहयुद्धमा पछिल्लो समय दमास्कसले प्रगति हासिल गरेको छ । यसका बाबजुद इड्बिल प्रान्त र छेउको अलेप्पोका ग्रामीण इलाका भने अझै दमास्कसको नियन्त्रणमा आउन सकेका छैनन् । यो क्षेत्रमा बस्ने करिब तीनचौथाइ मानिस देशका अन्य भागबाट विस्थापित भएर आएका छन् । उत्तर–पश्चिम सिरियाको अधिकांश भाग ‘हयात तहरिर अल–साम’को नियन्त्रणमा छ । यो मिलिसिया समूहले आफूलाई अल–कायदाको मूलबाट टाढा राख्न खोजेको भए पनि अझै यसले आलोचकविरुद्ध कठोर नीति अँगाल्ने गरेको छ भने धार्मिक नीति लागू गर्ने गर्छ । दमास्कस र विद्रोहीको पकडमा नरहेको यस भेगका बाँकी क्षेत्रमाभने टर्की–समर्थित समूहको नियन्त्रण छ । दमास्कसले यो भेगमा पकड विस्तार गर्न बारम्बार हवाई हमला गर्ने गरेको छ भने फाट्टफुट्ट स्थल लडाइँ पनि हुन्छ ।
दमास्कस र विद्रोही लडाकु समूहबीचको द्वन्द्वमा फसेकाले यो भेगमा झन्डै ४५ लाख जनसंख्याको जीवन पहिलेदेखि नै कठिन रहँदै आएको छ । यो भेगका झन्डै ९१ प्रतिशत मानिस बाँच्नका लागि सहायतामा निर्भर छन्
रुस–समर्थित सिरियाली सेनाहरूको दशकौँदेखिको बमबारीका कारण यहाँको स्वास्थ्य पूर्वाधार ध्वस्तप्रायः छ । उनीहरू पहिले नै चरम गरिबीका कारण दयनीय अवस्थामा बाँच्न विवश छन् । भूकम्पभन्दा पहिले पनि अधिकांश आन्तरिक रूपमा विस्थापितमध्ये झन्डै १७ लाख मानिसलेअसुरक्षित भवन वा पालमा चिसो काटिरहेका थिए । नर्वेजियन शरणार्थी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युद्धका कारण पहिले नै विस्थापित भएकाहरू अब विपत्बाट फेरि एकपटक विस्थापित हुनेछन् ।
कठ्यांग्रिने जाडो र बढ्दो महँगीका बीच आइपरेको यो नयाँ संकटमाझ सिरियालीहरूलाई एक्लै छाड्न हुँदैन ।’ तर, सिरियालीहरू यो कठिन घडीमा प्रायः एक्लै छन् । उनीहरू केहीअघिदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रबाट ओझेलमा पर्न थालेका थिए । सिरियाली गृहयुद्ध मत्थर हुँदै जान थालेदेखि नै अन्तर्राष्ट्रिय समुदायले सिरियालाई बेवास्ता गर्न थालेको थियो । संयुक्त राष्ट्रसंघबाट सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा सहायताका लागि दिइने म्यान्डेटसमेत हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने हुँदा स्थानीयवासीहरू अत्यावश्यक सहायतालाई लिएरसमेत हरसमय अनिश्चितताको भावमा बाच्नुपर्ने स्थिति छ ।
सिरियाको उत्तर–पश्चिमी सीमाक्षेत्रका जिन्देरेस, सरमादा, अजाज, आतमा र अन्य थुप्रै साना सहर सरकारी सेनाको निसाना र शरणार्थी बसोवासको क्षेत्र भएकाले परिचित नाम हुन् । यहाँका अधिकांश संरचना युद्धको मारमा ध्वस्तप्रायः छन् । शरण खोजेर कैयौँ क्षेत्रबाट आएका दसौँ हजार मानिसलाई बस्न बनाइएका अस्थायी संरचनासमेत पछिल्लो भूकम्पले धराशयी भएका छन् । पहिले नै यो क्षेत्रको कमजोर पूर्वाधारले हैंजाजस्ता रोगहरू फैलाउने गरेको थियो । पछिल्लो समय केही पुनर्निर्माण भएका पूर्वाधार पनि भूकम्पले नष्ट बनाइदिएपछि ठूलो मानवीय संकट उत्पन्न हुन पुगेको छ । यस्तो अवस्थामा रोग थप फैलिन सक्छ ।
गत दशकको गृहयुद्धमा देशको सीमा कटेर टर्कीको दक्षिणी सीमा क्षेत्र पुगेका सिरियालीहरू पनि यो विनाशबाट उम्कन सकेनन् । टर्कीका सीमावर्ती सहर गाजियान्टेप, कहरामनमारस, अन्टाक्या, सान्लिउर्फा, किलिस शरणार्थी सिरियालीका लागि नयाँ घरजस्तै बनेका थिए । देशको गृहयुद्धबाट बाँचेर विदेशी भूमिमा शरणार्थीको अनिश्चितता र अभाव खेपिरहेका सिरियालीले पुनः घर र आफन्तजन गुमाएका छन् ।
भूकम्पपछि प्रभावित क्षेत्रका अस्पताल र क्लिनिकहरूमा भूकम्पपीडितहरूको घुइँचो लागेको छ । चिकित्सकहरू न्यून पूर्वाधारबीच पनि बिरामीहरू हेरिरहेका छन् । देशको प्रायः भाग भूकम्पपछि सञ्चार लाइनबाट कटेकाले विदेशमा रहेका सिरियालीहरू आफ्ना परिवारका सदस्यको खबर पाउन संघर्ष गरिरहेका छन् ।
पछिल्लो विपत्पछि उत्तर–पश्चिम सिरियाको एक मात्र बाह्य सम्पर्क बिन्दु बब अल–हावा नाका अवरुद्ध भएको छ । टर्की आफैँ संकटमा रहेको र उसका स्वास्थ्य पूर्वाधार पनि दबाबमा रहेको अवस्थामा सीमापार सिरियाको भूमि उनीहरूका सहयोगको प्राथमिकतामा पर्ने सम्भावना न्यून छ । अन्तर्राष्ट्रिय समुदायको मानवीय सहयोग तत्कालै यो क्षेत्र नपुगे यहाँको स्थिति थप भयावह हुने निश्चित छ । तर, भूकम्पका कारण सडक एवं विमानस्थलसमेत बन्दजस्तै रहेकाले त्यहाँ फसेका जनसंख्यालाई तुरुन्तै कसरी मद्दत पुर्याइनेछ स्पष्ट भएको छैन । ‘हामी पहिले नै निराशाजनक अवस्थामा बाँचिरहेका थियौँ । स्थिति त्योभन्दा पनि खराब होला भनेर मैले सपनामा पनि सोचेको थिइनँ,’ सो भेगका एक चिकित्सक डा. ओसामा सल्लुमले भने ।
– द गार्जियनबाट