सत्तारूढ गठबन्धनले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन उच्चस्तरीय राजनीतिक संयन्त्रभित्र छलफल गर्ने भएका छन् । बिहीबार संयन्त्रको बैठक राख्ने र राष्ट्रपतिको उम्मेदवारमाथि छलफल गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।
एमाले अध्यक्ष ओलीनिवास बालकोटमा बुधबार भएको करिब दुई घन्टाको छलफलपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार संयन्त्रको बैठक राखेर राष्ट्रपतिको निर्वाचनमा सहज रूपमा अघि बढ्ने विषयमा छलफल हुने बताए । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौँ, सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ, राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ,’ बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्ड र ओली लगातार संवादमै रहे पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तीन सातादेखि बसेको छैन । २ माघमा बसेको संयन्त्रको बैठकले सत्ता साझेदार दलबीच मन्त्रालयको भागबन्डा टुंगो लगाएको थियो । तर, त्यसप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सामेल भएन ।
सर्वोच्च अदालतले नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनले गृह मन्त्रालयबाट राजीनामा दिएका थिए । तर, त्यही मन्त्रालयलाई प्रतिष्ठा बनाएर रास्वपा सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सकभर रास्वपालाई पनि सरकारमा फर्काउने र सत्तारूढ गठबन्धनबाट साझा उम्मेदवार बनाएर अघि बढ्ने समझदारी भएको ओलीको सचिवालयको भनाइ छ ।