लमजुङको सुन्दरबजारमा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म नवौँ सुन्दरबजार महोत्सव हुने भएको छ। लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइ समितिको आयोजनामा सुन्दरबजारमा महोत्सव आयोजना गर्न लागिएको हो।
यसअघि फागुन ५ गतेदेखि महोत्सव हुने भनिए पनि प्राविधिक कारणले महोत्सव केही दिन पछाडि सरेको हो।देशका विभिन्न स्थानमा आयोजना भएका महोत्सवमा प्रदर्शन हुने बाल उद्यान र कलाकारसमेत व्यस्त भएकाले सोहीअनुसार समय मिलाउँदा महोत्सव फागुन १८ गतेबाट सुरु गर्न लागिएको लउवासंघ सुन्दरबजार इकाइका सचिव खेम गुरुङले बताए।
उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण भन्ने नाराका साथ सञ्चालन हुने उक्त महोत्सव अघिल्ला वर्षहरूमा जस्तै सुन्दरबजारको कृषि क्याम्पसमा हुनेछ।
लउवासंघ सुन्दरबजार इकाइको आयोजनामा सुन्दरबजारमा बर्सेनिजसो महोत्सवको आयोजना हुँदै आए पनि विगतका केही वर्ष कोरोना महामारीका कारण महोत्सव सञ्चालन हुन सकेको थिएन।
स्थानीयस्तरमा रहेका ऐतिहासिक, धार्मिक स्थानहरूको पहिचान र प्रचार प्रसार गर्दै परम्परागत कला र संस्कृतिको समेत जगेर्ना गर्ने महोत्सवको लक्ष्य रहेको आयोजकले बताएको छ।
आयोजकका अनुसार व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, औद्योगिक क्षेत्रमा लगानीको वातावरण तयार गर्न महोत्सवले सहयोग पुग्ने गरी महोत्सव आयोजना गर्न लागिएको लउवासंघ सुन्दरबजार इकाइका अध्यक्ष डण्डबहादुर सुनारले बताए।
व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा बाहिरका व्यापारी आएर पैसाबाहिर लैजाने बताइरहेको समयमा महोत्सवमा हुने स्टलहरूमा स्थानीय व्यापारीहरूलाई नै प्राथमिकता र प्रोत्साहन गर्ने गरी महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गर्नको लागि विभिन्न राष्ट्रिय कलाकारको समेत सांस्कृतिक कार्यक्रम राखिनेछ।
महोत्सवका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी आर्थिक विकासमा टेवा पुराउने र महोत्सवबाट प्राप्त आम्दानीबाट इकाइको कार्यक्षेत्रमा व्यावसायिक हितका कार्य गर्ने साथै सचिवालयको व्यवस्थापन गर्ने लक्ष्य लिइएको आयोजकले बताएको छ।
नेपालभित्रका विभिन्न जिल्लाका औद्योगिक, व्यापारिक, सांस्कृतिक तथा कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूलक्षित प्रवर्द्धन हुने अपेक्षा गरिएको सचिवालय संयोजक खेम गुरुङले जानकारी दिए। महोत्सवको एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, लोकदोहोरी गीत प्रतियोगिता, माविस्तरीय लोकनृत्य प्रतियोगिता, जातीय तथा साँस्कृतिक झलकहरु, बाल उद्यान, सरकारी तथा गैर सरकारी संस्थाका गतिविधि प्रदर्शनी, खुला लोकगीत प्रतियोगिता, होमस्टेसम्बन्धी प्रचार, कृषि, घरेलु तथा हस्तकला प्रदर्शनी, फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, शैक्षिक तथा विज्ञान प्रदर्शनीजस्ता कार्यक्रमहरू आयोजना गरिने बताइएको छ।
महोत्सवलाई सफल बनाउन एक सय ५५ जनाको मूल समारोह समिति गठन गरिएको छ। जसअन्तर्गत ३८ वटा उपसमिति गठन गरिने र ११ जनाको कार्यसम्पादन समिति गठन गर्ने बताइएको छ। महोत्सवमा ६३ लाख ६१ हजार आम्दानी गर्ने अनुमान गरिएको छ।