मेलम्चीको पानी वर्षैभरि आउने व्यवस्था गरिँदै

आइतबार, २२ माघ, २०७९
डिजिटल संस्करण
मेलम्चीको पानी वर्षैभरि आउने व्यवस्था गरिँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षण गर्दै खानेपानीमन्त्री अब्दुल खान ।

बाढीले पुर्‍याएका टनेल निर्माण छिट्टै सक्न पिआइडीलाई खानेपानीमन्त्रीको निर्देशन

बाह्रै महिना काठमाडौंमा मेलम्ची खानेपानी ल्याउने गरी खानेपानी मन्त्रालयले तयारी थालेको छ । खानेपानीमन्त्री अब्दुल खानले हिउँदयाममा मात्रै काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आउँदो बर्खादेखि १२ महिना ल्याउन सकिने पूर्वाधार निर्माण हुने बताएका हुन् । 

उनले यसअघि निर्माण भएका पूर्वाधार व्यवस्थित गर्न र बाह्रै महिना काठमाडौंमा मेलम्ची खानेपानी ल्याउन मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिएका हुन् । मन्त्री खानले त्यसका लागि आवश्यक स्टिमेट पनि माग गरेका छन् । 

अब्दुल खान, मन्त्री, खानेपानी

मेलम्ची खानेपानी काठमाडौंवासीको खानेपानीको मुख्य स्रोत हो, यसलाई व्यवस्थित र भरपर्दो बनाउँछौँ । यसका पूर्वाधार मजबुत र दिगो हुनुपर्छ, यसलाई व्यवस्थित गर्दा उपत्यकामा खानेपानीको हाहाकार हुँदैन ।

मन्त्री खानले शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षण गर्दै खानेपानीको बाँध स्थायी र भरपर्दो बनाउनेतर्फ आयोजनाले ध्यान दिनुपर्ने बताए । आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक सहयोग गर्न मन्त्रालय तत्पर रहेको उनले प्रतिबद्धतासमेत जनाए । 

‘मेलम्ची खानेपानी काठमाडौंवासीको खानेपानीको मुख्य स्रोत हो, यसलाई व्यवस्थित र भरपर्दो बनाउँछौँ,’ उनले भने, ‘यसका पूर्वाधार मजबुत र दिगो हुनुपर्छ, यसलाई व्यवस्थित गर्दा उपत्यकामा खानेपानीको हाहाकार हुँदैन ।’ 

१ असार र १७ साउन ०७८ मा बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको थियो । क्षति पुगेको ठाउँमा काम भइरहेको छ । हाल वैकल्पिक तरिकाले अर्थात् अस्थायी तरिकारले बाँधबाट पानी पठाइएको छ । तर, बाँधयताको पाइपलाइन भने मजबुत नै छ । बाढीले पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरणहरू र कन्ट्र्याक्टर लेबर क्याम्पसमेत बगाएको थियो । यसमध्ये टनेलमा बढी क्षति पुर्‍याएको थियो । हाल बाढीले क्षति पुर्‍याएका केही टनेल निर्माणको काम भइरहेको छ । तर, सुस्त गतिमा काम भइरहेको भन्दै मन्त्री खानले त्यसलाई व्यवस्थित र छिटो सकाउन निर्देशन दिए । उनले यो बर्खाको बाढीले नभत्काउने गरी वा बाँधको ढोका बन्द गर्नुनपर्ने गरी काम गर्न आवश्यक रहेकोसमेत बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानीलाई बाह्रै महिना काठमाडौंमा आउने बनाउन बाँध बलियो बनाउनुपर्ने बताए । उनले ०७८ असारको बाढीले पुर्‍याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि धेरै काम बाँकी रहेको मन्त्री खानलाई जानकारी गराए । उनले हाल पुरानो मेलम्ची आयोजना निर्माण समितिलाई कामविहीन बनाउँदा समस्या भएको बताए । ‘खानेपानी समिति नहुँदा तलब, मर्मत र महŒवपूर्ण निर्णय गर्न समस्या भएको छ,’ उनले भने, ‘यसबारे केन्द्र सरकारले चासो दिनुपर्छ ।’ 

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार असारदेखि बन्द रहेको मेलम्ची खानेपानी २३ मंसिरदेखि उपत्यकामा वितरण थालिएको थियो । हाल उपत्यकामा मेलम्चीसहित १० वटा खानेपानी भण्डारण ट्यांकी छन् । ती ट्यांकीबाट पालैपालो पानी वितरण भइरहेको छ । यसमध्ये उपत्यकामा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँछ । यसबाहेक उपत्यकानजिकका स्रोतबाट १२ करोड लिटर पानी आउँछ । उपत्यकाआसपासका स्रोत र मेलम्चीबाट आएको खानेपानी प्रशोधन गरी पालोअनुसार वितरण गरिने हुँदा ‘रिजर्भ ट्यांकी’ थोरै भए पनि थेग्न सक्छ । आइरहेको पानीलाई पठाउने भएकाले सबै पानी भण्डारण गर्न आवश्यक हुँदैन । मेलम्ची बाह्रै महिना उपत्यकामा आउन सम्भव भयो भने यहाँ खानेपानीको हाहाकार नहुने पिआइडीले जनाएको छ ।

See More On

सुझावित समाचार