कञ्चनपुरको पर्यापर्यटन विकासका लागि सरोकारवाला पक्षले बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार सञ्चालनमा जोड दिएका छन् । स्थानीय सरकारसहित पर्यटन विकाससँग सम्बद्ध निकायका पदाधिकारीले जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीदेखि निकुञ्ज प्रवेशद्वार सञ्चालनमा जोड दिएका हुन् ।
निकुञ्ज प्रवेशका लागि हाल भीमदत्त नगरपालिका– १६ मझगाउँ निकुञ्ज प्रशासन कार्यालयदेखि एउटा मात्रै रुट रहेको छ । ४ माघ ०७६ सालमा तत्कालीन वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री विना मगरले संयुक्त रूपमा निकुञ्ज प्रवेशका लागि बेलडाँडी गाउँपालिका– २ कालिकिचमा प्रवेशद्वार शिलान्यास गरेका थिए ।
संघीय सरकारले तीन वर्षअघि बेलडाँडीदेखि निकुञ्ज प्रवेशका लागि शिलान्यास गरेको बताउँदै सरोकारवाला निकायले संघीय सरकारले दक्षिण भएर प्रवेशद्वार सञ्चालनमा ढिलाइ गरिरहेकाले आफैँ जागरुक भएको बताएका छन् । प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट, तत्कालीन बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापासहितको उपस्थितिमा प्रवेशद्वारा शिलान्यास गरेपनि संघीय सरकारले तीन वर्षसम्म प्रवेशद्वार सञ्चालनमा ढिलाइ गरेपछि स्थानीय सरकारसहितका सरोकावाला प्रवेशद्वार सञ्चालनमा आफैँ सक्रिय भएका हुन् ।
शनिबार बेलौरी नगरपालिकामा दक्षिणी क्षेत्रका स्थानीय सरकारका प्रमुखसहित पर्यटन क्षेत्रमा कार्यरत संघसंस्था एवं उद्योगी–व्यवसायीले निकुञ्ज प्रवेशका लागि बेलडाँडीदेखि रुट सञ्चालनमा जोड दिए । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्जको फाँटा प्रवेशका लागि सबैभन्दा नजिकको रुट बेलडाँडीदेखि हुने बताए । ‘निकुञ्जभित्र मुख्यफाँटा अनुगमनका लागि मझगाउँभन्दा बेलडाँडी नै नजिक पर्छ,’ उनले भने, ‘दक्षिण बेलडाँडी भएर निकुञ्ज प्रवेशको रुट बनाउन हाम्रोतर्फबाट सक्दो सहयोग गछौँ ।’ गाउँप्रमुख रानाले अहिले अल्पकालका लागि चौधरनदीमा ह्युपपाइप राखेर रुट बनाउने दीर्घकालनका लागि नदीमा पूर्वाधार विकास कार्यालयबाट पक्की पुल निर्माण हुने बताए ।
लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले दक्षिण भएर निकुञ्ज प्रवेशका लागि आफ्नोतर्फबाट आवश्यक सहयोग गर्ने बताए । उनले उत्तर मझगाउँदेखि दक्षिण बेलडाँडी भएर लालझाडी चुरेसम्म पर्यटक रुट विस्तार गर्नुपर्ने बताए ।
बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बेलडाँडी भएर निकुञ्ज प्रवेशका लागि रुट बनाउन बेलौरीबाट सक्दो आर्थिक, भौतिक सहयोग गर्ने बताए । ‘यसअघि संघीय सरकारका वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री विना मगरले नै प्रवेशद्वारा शिलान्यास गरेका थिए,’ उनले भने, ‘त्यही दिनदेखि बेलडाँडी भएर निकुञ्ज प्रवेशका लागि मान्यता पाएको हो । अहिले संघ सरकारले यो योजना कार्यान्वयन नगरे पनि हामी स्थानीय तहबाट कार्यान्वयनका लागि आवश्यक सबै कामकाज अघि बढाउँछौँ ।’
आन्तरिक पर्यटन उत्थान समिति सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बेलडाँडी भएर निकुञ्ज प्रवेशको रुष्ट कार्यान्वयनका लागि स्थानीय सरकार जागरुक हुनुपर्नेमा जोड दिए । ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार अग्रसर हुनुपर्छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्यसम्म रुट बनाउन जुनसुकै सरकारले पूर्वाधार बनाए पनि हुन्छ । त्यसका लागि अहिले स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्छ ।’
नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस (नाटा) सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंहले सरकारी निकायबाट दक्षिण भएर निकुञ्ज प्रवेशका लागि रुट बनाए नाटाका तर्फबाट पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताए । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले पनि पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले समेत रुट निर्माणसँगै लगानी गर्ने बताए ।
धनगढी विमानस्थलदेखि दक्षिण पश्चिम बेलडाँडी ५५ र उत्तरपश्चिम मझगाउँ ७० किलोमिटर दूरीमा रहेको छ । बेलडाँडीदेखि निकुञ्ज प्रवेशका लागि रुट निर्माण भए आन्तरिक तथा बाह्य पर्यटकसमेत दक्षिण रुट भएर प्रवेश गर्ने अपेक्षा गरिएको छ ।