स्वास्थ्यमा सेवा दिने र लिनेबीच सधैँ द्वन्द्व

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

चार वर्षमा चिकित्सकविरुद्ध १५३ उजुरी, तर छैन कारबाही

चिकित्सकको लापरबाही र कमजोरीका कारण बिरामीको मृत्यु भएको तथा स्वास्थ्य झन् बिग्रिएको आरोप लगाउँदै चिकित्सकमाथि कारबाहीको माग राखेर पछिल्ला चार वर्षमा मेडिकल काउन्सिलमा एक सय ५३ उजुरी परेका छन् । बिरामीको उपचारमा लापरबाही गरेकोबाहेक मेडिकल काउन्सिलमा किर्ते कागजात पेस गरेर जागिर खाएकोदेखि नक्कली चिकित्सक, गाली–बेइज्जतीलगायत उजुरीसमेत उनीहरूमाथि छ । अधिकांश उजुरी उपचारमा लापरबाही गरेकोसम्बन्धी नै छन् । तर, यो अवधिमा अहिलेसम्म एकजना चिकित्सकमाथि पनि कारबाही भने भएको छैन । 

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारी चिकित्सकले लापरबाही गरेको भनेर दर्ता भएका उजुरी पुष्टि हुन नसकेको बताउँछन् । ‘चिकित्सकको लापरबाही भनेर दर्ता भएका अधिकांश घटना पुष्टि नै हुँदैनन् । कतिपय घटनामा उपचारका क्रममा आइपर्ने दुर्घटना हुन्छन्,’ उनले भने, ‘अनुसन्धानमा चिकित्सक दोषी देखिने घटना खासै हुँदैनन् ।’ 

नारायणी अस्पतालका डा. अजितकुमार शाहले उपचारमा बेवास्ता गर्दा बिरामीको स्वास्थ्यमा जटिलता थपिएको भन्दै २६ भदौमा काउन्सिलमा उजुरी परेको छ । काउन्सिलले यो घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । 

गत साउनमा भरतपुर अस्पतालमा नवजात शिशुको समयमै उपचार नगर्दा ज्यान गएको भन्दै काउन्सिलमा उजुरी परेको थियो । नर्सले शिशुको उपचारमा बेवास्ता गर्दा ज्यान गएको पीडित पक्षको आरोप छ । काउन्सिलले आवश्यक कागजात मगाएर अनुसन्धान भइरहेको जनाएको छ । 

त्यस्तै, पित्तथैलीको उपचारको क्रममा चिकित्सकले लापरबाही गर्दा बिरामीको ज्यान गएको भन्दै २८ असारमा ललितपुरको मेडिसिटी अस्पतालविरुद्ध काउन्सिलमा उजुरी परेको थियो । उक्त घटनामाथि अहिलेसम्म पनि अनुसन्धान नै नलिएको काउन्सिलको जवाफ छ । 

प्रसूति गराउन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पुगेकी गर्भवतीको उपचारमा लापरबाही गर्दा शिशुको ज्यान गएको भन्दै २२ असारमा काउन्सिलमा उजुरी परेको थियो । चिकित्सक र नर्समाथिको उजुरी पनि अनुसन्धानमै रहेको काउन्सिलले जनाएको छ । 

इमर्जेन्सीमा भर्ना भएका एक बालकको उपचारमा ढिलाइ गर्दा कठिनाइ थपिएको भन्दै असार १६ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जविरुद्ध समेत उजुरी परेको छ । त्यस्तै, रेडियोलोजिस्टले एनुमोली (गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था थाहा पाउन १८ देखि २१ हप्तामा गरिने जाँच)का क्रममा लापरबाही गर्दा बच्चा अंगभंग भएको भन्दै २ वैशाखमा सिभिल अस्पतालका रेडियोलोजिस्टविरुद्ध उजुरी परेको थियो । यो पनि अनुसन्धानकै क्रममा छ । 

नेपाल मेडिकल कलेजविरुद्ध गत चैतमा उजुरी परेको थियो । एपेन्डिक्सको शल्यक्रियाका क्रममा प्लास्टिकको पञ्जा बिरामीको पेटभित्रै छाडेको भन्दै उजुरी परेकोमा अहिलेसम्म काउन्सिलले अनुसन्धान सकाएको छैन ।

काउन्सिलको तथ्यांकअनुसार चिकित्सकले लापरबाही गरेको भन्दै बर्सेनि ५० वटासम्म उजुरी पर्ने गरेका छन् । काउन्सिलअन्तर्गतको ‘व्यावसायिक आचरण तथा स्वास्थ्य समिति’को तथ्यांकअनुसार यो वर्ष चिकित्सकको लापरबाहीविरुद्ध १२ वटा घटना दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा ४६, ०७७/७८ मा ५० र ०७६/७७ मा ४५ घटनाको उजुरी काउन्सिलमा दर्ता भएका थिए । कतिपय विवादमा अस्पतालले बिरामी र मृतकका आफन्तलाई क्षतिपूर्ति दिएर तथा उपचार शुल्क मिनाहा गरिदिएर मिलाउने गरेका छन् ।

वीरमा पित्तथैलीको शल्यक्रिया गर्दा तीनवटा दाँत गायब भएको त्यो घटना
गत भदौमा वीर अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्दा नुवाकोटकी ५० वर्षीया राधिका ओझाका माथिल्लापट्टिका तीनवटा दाँत नै खसेका थिए । परिवारका सदस्यले चिकित्सकले लापर्वाही गरेर दाँत झारिदिएको आरोप लगाए । चिकित्सकले ‘अप्रेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको’ जवाफ दिएका थिए । इन्टुबेसन भनेको ‘घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया’ हो ।

यसक्रममा बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको अस्पतालको दाबी थियो । तर, यस्तो दुर्घटनाको सम्भावना हुन्थ्यो भनेपनि पूर्वजानकारी नदिएर चिकित्सकले लापर्वाही गरेको परिवारले गुनासो थियो । पछि अस्पतालले नि:शुल्क दाँत हालिदिने प्रतिवद्धता जनाएपछि परिवारले राधिकाको डिस्चार्ज स्वीकारेका थिए ।  

१६ वर्षमा १४० डाक्टरलाई कुटपिट र ज्यानको धम्की

जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै कोसी अस्पतालका डा. आकाश यादवलाई बुधबार पीडितका आफन्तले कुटपिट गरे । यादवलाई कडा कानुनी कारबाहीको माग गर्दै दिनभर अस्पताल परिसरमा आन्दोलित उनीहरूको कुटपिटबाट डा. यादव घाइते भएका छन् । यसअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साह ३ भदौमा प्रतिष्ठानकै कर्मचारीबाट कुटिए । छोराको उपचार गर्न साहले नमानेको भन्दै ती कर्मचारीले कुटपिट गरेका थिए । 

०६३ यता डेढ दशकमा साहजस्ता एक सय ४० चिकित्सकमाथि कुटपिट, ज्यान मार्ने धम्कीलगायत दुर्व्यवहार भएको संघको तथ्यांक छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्य दुर्व्यवहारका घटना त धेरै छन् । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ जारी भएसँगै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना रोकिने अपेक्षा गरिएको थियो । तर, ऐन संशोधनपछि जुम्लामा डा. साह कुटिए । चिकित्सक कुटिएको यो घटना ऐन संशोधनपछि चिकित्सक संघसम्म आइपुगेको पहिलो हो । 

०७८ मा मात्रै चिकित्सकमाथि कुटपिट र ज्यान मार्ने धम्कीका पाँच घटना भएका थिए । सोही वर्ष १३ माघमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहबाट ज्यान मार्ने धम्कीसहित उनी सवार गाडीमा आक्रमण भएको थियो । १३ साउन ०७८ मै अर्घाखाँची अस्पतालका चिकित्सक डा. कपिल गौतमलाई राष्ट्रिय सभाका पूर्वसदस्य चन्द्र खड्काले एम्बुलेन्सभित्रै थुनेका थिए । कोभिडका बिरामीको अक्सिजन मिलाइरहेका वेला ती बिरामीसँगै एक घन्टासम्म थुनेर अपशब्दसमेत प्रयोग गरेका थिए । अघिल्ला वर्षहरू ०७७, ०७६ र ०७५ मा चिकित्सक कुटपिट र दुर्व्यवहारका क्रमशः ४, १४ र १७ घटना भएको संघको तथ्यांक छ । 

‘कुनै पनि चिकित्सकले बिरामी मरोस् भनेर उपचार गर्दैन । उपचारका क्रममा भएको दुर्घटनालाई चिकित्सकको गल्ती भनेर कुटपिटमै उत्रिनेजस्ता दुर्व्यवहारका घटनामा कमी आउन सकेको छैन । यस्ता घटनाले स्वास्थ्य सेवामै प्रभाव पार्छ,’ चिकित्सक संघका महासचिव डा. बन्द्री रिजाल भन्छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७९ अनुसार स्वास्थ्य संस्थामा आगजनी तथा तोडफोड गर्ने वा अन्य कुनै कार्य गरी हानि–नोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याएको देखिए मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने प्रावधान स्पष्ट पारिएको छ । त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्नेविरुद्ध पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान समेटिएको छ ।

सुझावित समाचार